• फाल्गुन २७ २०८२, बुधबार

खालिस्तानी नेता अमृतपाल सिंह भारतको पञ्जाबबाट पक्राउ

बैशाख १० २०८०, आईतवार

काठमाडौँ । खालिस्तानी पृथकतावादी नेता अमृतपाल सिंह भारतको पञ्जाबबाट पक्राउ परेका छन् । उनी मोगाको रोद गाउँबाट आइतबार बिहान पक्राउ परेको पञ्जाब प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

शिखहरूका लागि पञ्जाबमा छुट्टै देश ‘खालिस्तान’ बनाउने ‘वारिस पञ्जाब दे’ अभियानको नेतृत्व सिंहले गरिरहेका थिए ।
हिन्दुस्तान टाइम्सले प्रहरी स्रोतलाई उदृत गर्दै प्रकाशित गरेको समाचार अनुसार उनलाई आसामको दिब्रुगढ जेलमा पठाउने तयारी छ ।

त्यहाँ उनका अन्य सदस्यहरुलाई पहिले नै पक्राउ गरि राखिएको छ । राष्ट्रिय सुरक्षा ऐन अनुसार उनलाई पञ्जाब प्रहरी र राष्ट्रिय अनुसन्धानको टोलीले पक्राउ गरेको हो । गत चैत दोस्रो साता सिंह नेपालमा बसेको हुनसक्ने आशंका गर्दै काठमाडौंस्थित भारतीय दूतावासले नेपाल सरकारसँग उनलाई विदेश जारी अनुमति नदिन आग्रह गरेको थियो । उनी पञ्जावबाट नेपाल आएको दाबी दूतावासको थियो ।

भारतीय दूतावासले परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागलाई पठाएको पत्रमा पञ्जाबबाट फरार भएका सिंहलाई नेपालहुँदै तेस्रो मुलुक यात्रा गर्न सक्ने भन्दै अनुमति नदिन आग्रह गरेको थियो । पत्रमा सिंह नेपालमा लुकेर बसेको भन्दै नेपालबाट भाग्न खोजे पक्राउ गर्न आग्रह गरिएको थियो ।

सन् १९८० को दशकको अन्तिम र ९० को दशकको सुरुमा खालिस्तान पृथकतावादी आन्दोलन चरम रहेको थियो । भारतीय सुरक्षा निकायले दमन गरेपछि भारतभित्र उनीहरुको गतिविधि थिएन । विभिन्न देशमा भने पृथकतावादी अभियानका समर्थन रहेका थिए ।

३० वर्षीय सिंहले भारतभित्र खालिस्तानी पृथकतावादी अभियान पुनः जगाउने अभियान सुरु गरेको भारतीय सञ्चारमाध्यमहरूको दाबी छ । त्यसलगत्तै विभिन्न देशमा खलिस्तान समर्थकहरुको गतिविधि पनि बढेको छ । केही समय अघि बेलायतस्थित भारतीय दूतावासमा खालिस्तान समर्थकहरुले भारतीय झण्डा निकालेर खालिस्तानको झण्डा फहराएका थिए ।