काठमाडौं । चिनियाँ परमाणु हतियारको विकास देखेर उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) चिन्तित बनेको छ । सन् २०३५ भित्रमा चीनसँग १५ सय परमाणु हतियार हुने भन्दै अमेरिकासहित ३१ देश आबद्ध नेटोले चीन अब जिम्मेवार हुनुपर्छ भन्दै असन्तुष्टि व्यक्त गरेको हो । नेटोका महासचिव जेन्स स्टोल्टनबर्गका अनुसार हतियारको मामिलामा चीनले पारदर्शिता देखाएको छैन ।
चीनले परमाणु हतियार विकास गरिरहेको सन्दर्भमा उनी भन्छन्, ‘लामो समयका लागि हामीले अझ खतरनाक र प्रतिस्पर्धात्मक संसारमा हाम्रो दृष्टिकोणलाई पुनर्विचार गर्न आवश्यक छ । यसको अर्थ यो हो कि हामीले चीनसँग छलफल गर्न जरुरी छ, जोसँग सन् २०३५ सम्ममा १५ सयवटा परमाणु हतियार हुनेछन् ।’
उनका अनुसार चीन विश्वकै एक शक्ति राष्ट्र हो र उसले वैश्विक जिम्मेवारी वहन गर्नुपर्छ । हतियार नियन्त्रण सम्झौताको पारदर्शिताले चीनलाई पनि फाइदा पुग्ने उनी बताउँछन् । नेटो महासचिव थप भन्छन्, ‘हामी चीनलाई शत्रु मान्दैनौँ, तर चीनले हाम्रो हित, नेटोको मूल्य मान्यता र सुरक्षाका लागि केही चुनौतीहरू प्रस्तुत गरेको छ । त्यसैले चीनसँग वार्ता गर्नु झनै जरुरी छ ।’
विश्व हतियार सम्बन्धी जानकारी राख्ने स्वतन्त्र अन्तरराष्ट्रिय संस्था सिप्रीका अनुसार विश्वमा सबैभन्दा बढी परमाणु हतियार भएको राष्ट्र रुस हो । ऊसँग झण्डै ६ हजार परमाणु हतियार छन् । अमेरिकासँग ५५ सयवटा परमाणु हतियार छन् भने चीनसँग मात्र ३ सय ५० वटा परमाणु हतियार छन् । चीन विश्वमै पहिलो आर्थिक शक्ति राष्ट्र बन्ने होडमा छ ।
पछिल्लो समयमा चीनमाथि अपारदर्शिताका साथ हतियार विकास गरिरहेको, मानवअधिकारको उल्लंघन गरेको, साइबर सुरक्षा खतरा बढाएको आरोप लाग्ने गरेको छ । पश्चिमा राष्ट्रहरु चीन, रूस, कोरिया तथा इरानले परमाणु हतियार नबनाउन भन्ने चाहन्छन् ।
हतियारकै बलमा अमेरिका लगायतका पश्चिमा देशहरु संसारभर व्यापार र शासन गरिरहेको अवस्थामा पछिल्ललो दशकमा उनीहरुलाई टक्कर दिन अरु राष्ट्रहरुको पनि उदयपछि पश्चिमाहरुको टाउको दुखाईको विषय बनेको छ ।