काठमाडौं । भारतको उत्तर प्रदेशमा लोकसभाका पूर्वसांसदको गोली हानी हत्या गरिएको समाचार चर्चामा छ । टाइम्स अफ इन्डियाका अनुसार प्रयागराजस्थित एक अस्पताल अगाडि पत्रकारसँग कुरा गरिरहेका बेला पूर्वसांसद अतिक अहमद र उनका भाइमाथि गोली हानिएको थियो ।
एएनआईद्वारा सार्वजनिक भिडिओमा उनीहरू प्रहरीको गाडीबाट उत्रिएर प्रहरीसँगै हिँड्दै गरेको देखिन्छ । दुवैलाई प्रहरीले हतकडी पनि लगाएको छ ।
अतिक र उनका भाइलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजान लागेको थियो । अहमद दाजुभाई उत्तर प्रदेशका विधायक राजु पाल र उमेश पालको हत्यामा अभियुक्त थिए । हिरासतमा रहेका उनीहरूलाई प्रहरीले एउटै हतकडी लगाएर अस्पताल पुर्याएको थियो ।
प्रहरीको घेरामै रहेर अस्पताल छिर्ने क्रममा पत्रकारहरूले अतिकसँग केही दिनअघि उनका छोरा प्रहरी इन्काउन्टरमा मारिएको घटनाबारे प्रश्न सोधेका थिए ।
जवाफ दिइरहेका अतिकमाथि पछाडिबाट कसैले टाउकोमा गोली हानिएको दृश्य क्यामरामा कैद भएको छ । अतिक दाजुभाइमाथि दुई जनाले गोली हानेका थिए । उनीहरूसहित एक जना अर्का व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
अतिक ग्याङस्टार थिए । आपराधिक गतिविधिबाट राजनीतिमा आएका अतिक सन् २००९ सम्म लोकसभाका सदस्य थिए । आपराधिक गतिविधिमा संलग्न भएका अतिकका अरू दुई छोरा अहिले जेलमा छन् ।
https://twitter.com/i/status/1647293175780761601