• मंसिर १३ २०८१, बिहीबार

सुरू भयो गैंडाकोट–मौलाकालिका केवुलकार

बैशाख १ २०८०, शुक्रबार

गैंडाकोट निवासी १ सय वर्षिया सरस्वती कँडेलको पहिलो यात्रासहित गैंडाकोट–मौलाकालिका केवुलकारको सफल उदघाटन गरिएको छ । नयाँ वर्ष २०८० को शुभअवसरमा उद्घाटित यो केवुलकारको सफल सुरूआतीले मौलाकालिका मन्दिरमा जाउजाउ गर्नका लागि थप आकर्षण ल्याएको छ ।

शुक्रबार विहानैदेखि मानिसको चहलपहल देखिन थालिसकेकाले नयाँ प्रविधि र सेवासुविधाप्रति जनताको आकर्षण निकै बढेर गएको सहज अनुमान गर्न सकिन्छ ।

केवलकारको उद्घाटनका अवसरमा यसको सबैभन्दा तल्लो स्टेशनमा १ सय वर्षीया ज्येष्ठ नागरिक सरस्वती कँडेल र सबैभन्दा माथिल्लो स्टेशनमा नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल दुईजना यो आकाशे उडानको पहिलो यात्रु बनेका छन् ।

उदघाटनसँगै कम्पनीले गैंडाकोट–मौलाकालिकासम्म आउन र जान दुईतर्फी भाडा ५५० रूपैयाँ तोकेको छ । साथै, वर्गीकृत उमेरअनुसार ३ देखि ४ फिटसम्मका बच्चाबच्चीका लागि ३३०, विद्यार्थीका लागि ४१५, जेष्ठ नागरिकका लागि ४१५ र फरक क्षमता भएका लागि २७५ रूपैयाँ टिकट दर पनि कायम गरिसकेको छ ।

यस अतिरिक्त केबलकारले ८० वर्षमाथिका वृद्धवृद्धा र ३ फिटभन्दा तलका बच्चाबच्चीहरूको लागि निःशुल्क सेवा दिने घोषणा गरेको छ । केबलकारको टिकट लिन ई–सेवा पनि प्रदान गरिएको छ । मोबाइलमा एप्लिकेशनमा आईएमई पे डाउनलोड गरेर टिकट लिन सकिने व्यवस्था गरिएको छ ।

६ वटा टावर भएको १ हजार २ सय मिटर लामो केबुलकारमा १२ वटा यात्रु बोक्ने डिब्बा (गोन्डुला) र दुईवटा सामान बोक्ने डिब्बा रहेका छन् । एउटा डिब्बामा एक पटक ८ जना यात्रु अटाउँछन् । गन्तव्य स्थान पुग्न ५ मिनेट लाग्ने भएकाले केवुलकारको कूल यात्रा १० मिनेटको मात्र हुन्छ ।