काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले निजी क्षेत्रले व्यापारमा भन्दा उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न जरुरी भएको बताएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री महतले मुलुकको अर्थतन्त्र सुधार गर्न निजी क्षेत्रले व्यापारमा मात्रै नभई उद्योग व्यवसायमा लगानी केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् । उनले मुलुकका हरेक संयन्त्रमा समस्या रहेको भन्दै सबैले सुधार गर्न आवश्यक रहेको बताए ।
अर्थमन्त्री महतले निजी क्षेत्रले उत्पादनमुलक उद्योग व्यवसायमा लगानी केन्द्रित गरे सरकारले लगानीको वातावरण सहज बनाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपायहरूको व्यवस्था गर्ने बताए । अर्थमन्त्री महतले अन्तराष्ट्रिय स्तरमा भइरहेका युद्धहरूको प्रभाव नपरे नेपालको आर्थिक वृद्धि ४ प्रतिशतभन्दा माथि हुने बताए ।
उनले अन्तराष्ट्रिय परिस्थिति राम्रो र युद्धको अन्त्य हुनसके नेपालको आर्थिक विकास, रुपान्तरण, पुँजी विकास र उद्योग व्यवसायमा लगानीका समस्या समाधान गरी अर्थतन्त्रमा सकारात्मक सुधार हुने बताए । उनले तत्कालका लागि सरकारको सम्पूर्ण ध्यान पुँजीगत खर्च गर्ने क्षमता प्रभावकारी बनाउने र साधारण खर्चलाई कम गर्नेमा रहेको बताए ।
अर्थमन्त्री महले सरकारले पुँजीगत खर्चमा वृद्धि गरी बजारमा तरलताको सहजता बनाई आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले निजी क्षेत्रको लगानीबाट नै अर्थतन्त्र चलायमान हुने भन्दै सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्ने बताए ।