• फाल्गुन २७ २०८२, बुधबार

ताइवानी राष्ट्रपति अमेरिकातिर ढल्किएपछि चीनले ताइवानलाई सिल गर्ने अभ्यास गर्यो

चैत्र २७ २०७९, सोमबार

काठमाडौं । चीनले ताइवान वरिपरिको सैन्य अभ्यास सोमबार पूरा गरेको घोषणा गरेको छ । तीनदिने सैन्य अभ्यास ताइवानलाई सिल गर्न र लडाइँ तथा सटिक आक्रमणको अभ्यासका रुपमा रहेको थियो ।

संयुक्त राज्य अमेरिकाको लस एन्जलसमा अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीसँग ताइवानकी राष्ट्रपति साई इङ्ग वेनले भेटेपछि त्यसको प्रतिक्रियास्वरुप बेइजिङले शनिबार सैन्य अभ्यासको घोषणा गरेको थियो ।

प्रजातान्त्रिक रूपमा शासित ताइवानलाई बेइजिङको नियन्त्रणमा ल्याउन चीनले बल प्रयोग आवश्यक भए पनि गर्ने भन्दै आएको छ । ताइवान आफ्नै हिस्सा भन्ने चीनको दाबीलाई ताइवानले विरोध गर्दै आएको छ र सैन्य अभ्यासको समेत निन्दा गरेको छ ।

चिनियाँ सेनाले यो अभ्यास सफलतापूर्वक सम्पन्न गरेको र वास्तविक लडाइँ परिस्थितिहरूमा विभिन्न (सैन्य) एकाइहरूको क्षमताको परीक्षण गरेको बताएको छ ।

‘ताइवानको स्वतन्त्रता पृथकतावाद र विदेशी हस्तक्षेपको कुनै पनि रूपलाई दृढतापूर्वक कुचल्न थिएटरमा रहेका सेनाहरू सधैँ लड्न तयार छन् र कुनै पनि समय लड्न सक्छन्,’ चिनियाँ जनमुक्ति सेना (पीएलए)को पूर्वी थिएटर कमान्डले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।