काठमाडौं । प्रचण्ड नेतृत्वको संयुक्त सरकारका ९ प्राथमिकता सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक गरिएको संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा सरकारका ९ प्राथमिकता समेटिएको हो ।
जसमा संविधानको रक्षा र आवश्यकता अनुसार परिमार्जन/विकास, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र सङ्घीयता कार्यान्वयन गर्ने विषय समेटिएको छ ।
यस्तै देशको अर्थतन्त्र रूपान्तरण र सुदृढ गर्न नीतिगत, संरचनागत तथा कार्यगत सुधार गर्ने, समाजमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय सबै प्रकारका विभेदहरूको अन्त्य गरी समता, स्वतन्त्रता एवम् न्यायमा आधारित सामाजिक व्यवस्था निर्माण गर्ने उल्लेख छ । यसैगरी गुणस्तरीय सेवा प्रवाह, सुशासन र सदाचारको प्रत्याभूति हुने गरी शासकीय सुधार गर्ने, भ्रष्टाचारको छानबिन गरी कडा कारबाही गर्ने उल्लेख छ ।
यस्तै शान्ति प्रक्रियालाई पूणर्ता दिन विस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार तथा विभिन्न पक्षहरूसँग भएका सहमतिहरूको कार्यान्वयन गर्ने, उत्पादनमुखी अर्थतन्त्र, आपूर्ति व्यवस्थामा सुधार तथा समन्यायिक वितरणको व्यवस्था गर्ने पनि उल्लेख छ ।
यस्तै खर्च कटौती र प्रशासनिक झमेलाको अन्त्यका लागि सार्वजनिक प्रशासन चुस्त दुरुस्त बनाउने, जलवायु परिवर्तन, जैविक विविधता ह्रास र वातावरणीय प्रदूषण जस्ता विश्वव्यापी सङ्कटले उत्पन्न गरेको जोखिम न्यूनीकरण गरी पर्यावरणीय सन्तुलन कायम गर्ने उल्लेख गरिएको छ । राष्ट्रिय हितको रक्षा एवम् जनताको समृद्धिका लागि स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्ने पनि संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा उल्लेख छ ।