काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले सुरत कोर्टको फैसलाविरुद्ध अपिल गर्ने भएका छन् ।
चार वर्ष पुरानो मानहानीको मुद्दामा सुरत कोर्टले गरेको दुई वर्ष कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसलाविरुद्ध राहुलले सोमबार सुरतको सेशन कोर्टमा पुनरावेदन निवेदन दिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सुरत कोर्टले गत मार्च २३ मा राहुललाई चार वर्ष पुरानो मानहानीको मुद्दामा दोषी ठहर गर्दै दुई वर्ष कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । उनमाथि ‘सबै चोरको थर मोदी किन हुन्छ?’ भन्ने अभिव्यक्ति दिएको आरोप छ ।
राहुलले फैसलाको ११ दिनपछि पुनरावेदन दिन लागेका हुन् । अदालतको फैसलाको भोलिपल्ट २४ मार्चमा उनको सांसद पदसमेत खारेज गरिएको थियो ।