नयाँदिल्ली । पूर्व क्रिकेट खेलाडी नवजोत सिंह सिद्धू जेलबाट रिहा भएका छन् । उनी कांग्रेस नेता पनि हुन् । शनिबार उनी पटियाला जेलबाट रिहा भएको बिबिसी हिन्दीले जनाएको छ ।
भारतीय सर्वोच्च अदालतले उनलाई तीन दशक अघिको एउटा घटनामा भारतीय सर्वोच्च अदालतले एक वर्ष जेल सजाय सुनाएको थियो । उनी १० महिना जेल बसेर उनी छुटेका हुन । उनलाई सर्वोच्चले जेल सजाय सुनाएपछि उनले आत्मसमर्पण गरेका थिए । जेलबाट रिहा भएपछि उनले राहुल गान्धीको विषयमा टिप्पणी गरेका छन् ।
कंग्रेसका नेता राहुल गान्धीलाई सुरत जेलले २ वर्ष जेल सजाय सुनाएको र लोकसभा सदस्य खारेज गरेको विषयमा टिप्पणी गरेका हुन् । ‘देशमा जबजब तानाशाही आएको छ । तब एउटा क्रान्ति पनि आएको छ र यस पटक क्रान्तिको नाम राहुल गान्धी हो,’ उनले भने,‘हामी सरकारलाई हल्लाउँछौं ।’
घटना बारे
सन् १९८८ डिसेम्बर २७ का दिन पटियालाको एउटा पार्किङमा सिद्धूको ६५ वर्षीय गुरनाम सिंहसँग मारपिट भएको थियो । पछि गुरनाम सिंहको मृत्यु भयो । सिद्धूलाई नियतवश हत्याको आरोप लागेको थियो । त्यो बेला सिद्धूलाई जिल्ला अदालतले निर्दोष ठहर्याएको थियो तर उच्च न्यायालयले दोषी ठहर्याउँदै तीन वर्ष सजाय सुनाइदियो ।
सरकारको तर्फबाट मुद्दा लडेका वकिलका अनुसार उक्त दिन सिद्धू र उनका साथी रूपिन्दर सिंह संधु पटियालाको शेरनवाला गेटनजिकै गाडीमा जाँदै थिए । त्यहीँ पीडित गुरनाम सिंह र अरू दुई जना कारमा थिए ।
सवारी हटाउने विषयमा सिद्धू र उनका साथीको गुरनाम सिंहसँग विवाद भयो । उनीहरूबीच कुटाकुट पनि भयो । यसबीच गुरनाम सिंह लडे । पछि अस्पतालमा उपचार क्रममा उनको मृत्यु भयो ।
पुलिस रेकर्डका अनुसार घटनापछि सिद्धू र उनका साथी फरार थिए । पछि मृतकका परिवारको आग्रहमा सिद्धू र उनका साथीविरूद्ध मुद्दा दर्ता भयो । जिल्ला अदालतपछि यो मुद्दा उच्च न्यायालयमा पुगेको थियो । सन् २००६ मा सिद्धू र उनका साथीलाई तीन-तीन वर्षको सजाय सुनाइयो । दुवैलाई जनही एक-एक लाख जरिमाना पनि तोकियो । पछि गुरनाम सिंहको मृत्युबारे डाक्टरहरूको राय स्पष्ट नभएको भन्दै यो मुद्दा सर्वोच्चमा पुर्याइएको थियो ।
सर्वोच्चले सन् २०१८ मा सिद्धूलाई निर्दोष सावित गरेको थियो तर पीडित परिवारले यसविरूद्ध फेरि अपील दायर गरेको थियो ।
यसमै अदालतले अहिले आएर सिद्धूलाई दोषी ठहर्याउँदै एक वर्षको सजाय सुनाएको हो । पहिले सिद्धूविरूद्ध यो मुद्दा चलेका बेला उनी क्रिकेटमा सक्रिय थिए । सन् १९९९ उनले क्रिकेटबाट संन्यास लिए र कमेन्टेटरका रूपमा काम थाले । पछि उनी टेलिभिजन कार्यक्रमहरूमा देखिन थाले ।
विस्तारै उनी राजनीतिमा सक्रिय भए । उनी अमृतसरका सांसद भए र पन्जाबमा कांग्रेसका अध्यक्ष पनि भइसकेका छन् । अहिले उनी पन्जाब कांग्रेसका वरिष्ठ नेता हुन् ।