काठमाडौं । रूपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र बिचौलिया ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसनधान आयोगले बिहीबार उनीहरू ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनी, वडानम्बर ७ का वडाध्यक्ष भीमबहादुर यादव र बिचौलिया विनोद भर पक्राउ परेका हुन् । उत्खनन् गरी घाटगद्दीमा रहेको नदीजन्य पदार्थ बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनको लागि मरासिनी र यादवले सेवाग्राहीसँग ५० हजार घुस माग गरेका थिए ।
उक्त सूचना अख्तियारले पाएपछि बुटवलबाट खटिएको टोलीले तीन जनालाई घुस लिइसकेको अवस्थामा गाउँ कार्यपालिकाको कार्यालयबाट पक्राउ गरेको हो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।