काठमाडौं । सरकारले मिटरब्याजीलाई कारबाही गर्ने गरी कानुन बनाउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मिटर ब्याज लगाउनेहरूलाई कारबाही गर्नेगरी कानुन संशोधन गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
‘मिटरब्याजको सम्बन्धमा मुलुकी अपराध संहितामा समावेश गर्ने भन्ने कुरा छ,’ ती मन्त्रीले भने,‘यसबारे कानुन संशोधनका लागि प्रक्रियामा लैजाने निर्णय भएको छ ।’
केही दिनदेखि काठमाडौंमै आएर आन्दोलन गरिरहेका मिटरब्याज पीडितहरूका समस्या बुझ्न उनीहरूसँग वार्ता गर्न सरकारले समिति पनि गठन गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गासहितको वार्ता टोली गठन गरेका हुन् ।
मिटरब्याज पीडितहरू आज बिहान प्रधानमन्त्री निवास बालुवाटारतर्फ जाँदै गर्दा प्रहरीले टंगालमा रोकेको थियो । पीडितका प्रतिनिधिहरूले भने आफूहरूलाई प्रधानमन्त्रीसँग भेटाइदिन आग्रह गरेकाले प्रधानमन्त्री दाहालले आजै मिटरब्याज पीडितसँग भेट्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।