• मंसिर १५ २०८१, शनिबार

३ किसान संगठनले गरे मिटरब्याजी पीडितहरुको आन्दोलनलाई समर्थन

चैत्र १४ २०७९, मंगलवार

काठमाडौं । मिटरब्याजीबाट पीडितहरुको आन्दोलनलाई नेपालका ३ वटा किसान संगठनहरुले समर्थन गरेका छन् । नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा मशाल निकट तीन किसान सङ्गठनले संयुक्त विज्ञप्ति जारी गरी मिटरब्याजीहरूद्वारा ठगिएर घरजग्गा समेत गुमाउन पुगेका किसानहरूको सङ्घर्षलाई समर्थन गरेका हुन् । ती संगठनहरुद्वारा पीडितहरुका माग अविलम्ब पूरा गर्न सरकारसँग आग्रह गरिएको छ ।

नेकपा (बहुमत) निकट अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष हरि श्रेष्ठ, क्रान्तिकारी माओवादी निकट अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ र नेकपा मशाल निकट अखिल नेपाल किसान महासङ्घका अध्यक्ष चिन्तामणि पौडेलले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

उनीहरुको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘आजभन्दा पहिले पटकपटक मिटरब्याजी ब्याजखोरहरूबाट पीडित किसानहरूले काठमाडौँको सडकमा धर्ना, जुलुस आदि सङ्घर्षको कार्यक्रम सम्पन्न भएका थिए । त्यो कार्यक्रममा हाम्रो पनि ऐक्यबद्धता र सहभागिता थियो । त्यसपछि सरकारसँग सहमति भएको र सरकारले उक्त सहमति पूरा गर्ने वचन दिएपछि गाउँ फर्किएका थिए । हामीले पनि उक्त सङ्घर्षहरूलाई ऐक्यबद्धता जनाएका थियौँ र देशका गरिब किसानहरूको पेचिलो सवाल भएकाले सकेको सहयोग पनि गरेका थियौँ । तर ती मागहरू पूरा भएनन् । त्यसबाट मिटरब्याजी साहूहरूले ‘अब केही नहुने’ बुझी ऋणी किसानहरूलाई थप पीडा दिएको र धेरैको उठीबाससमेत लागिसकेको अवस्थाले गर्दा पुनः किसानहरूले तपाईं किसानहरूले १२ दिन लामो कष्टपूर्ण यात्रा गर्नुपरेको हो । हामी तीन किसान सङ्गठनहरू सरकारले गरेको सहमतिप्रतिकोे गैरजिम्मेवारीको भत्र्सना गर्दछौँ । हामी मिटरब्याजी ब्याजखोरहरूले किसानहरूलाई फसाएर उनीहरूको जग्गाजमिनबाट उठीबास लगाउने र घरपरिवार बिचल्ली पार्ने घोर अपराधपूर्ण अमानवीय कार्यको घोर निन्दा र भत्र्सना गर्दछौँ । साथै नेपाली किसानहरूमाथि खुलेआम ठगीविरुद्ध भैरहेको मिटरब्याजी ब्याजखोरहरूबाट पीडित किसानहरूको यो सङ्घर्षप्रति पुनः दृढ ऐक्यबद्धता जनाउँदै किसानहरूको ऋण मिनाहा गर्न, ठगीमा परेकाहरूका जग्गाजमिन फिर्ता गर्न र मिटरब्याजी ब्याजखोरहरूमाथि कडाभन्दा कडा कारबाही गर्नसमेत जोडदार माग गर्दछौँ । तपाईं सङ्घर्षरत मिटरब्याजी ब्याजखोरहरूबाट पीडित किसानहरूको मागलाई तत्काल पूरा गर्न सरकारसँग जोडदार माग गर्दछौँ । हामी तपाईंहरूको साथमा छौँ ।’