• जेष्ठ १० २०८३, आईतवार

नेपाली सेनाको संख्या एनजिओले घोषणा गर्ने विषय होइन भन्दै जंगिए सेनापति शर्मा

चैत्र ९ २०७९, बिहीबार

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको सङ्ख्या यति हुनुपर्छ उति हुनुपर्छ भनेर एनजिओ आइएनजिओले घोषणा गर्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

बिहीबार पोखराको फूलबारीमा पश्चिम पृतना हेडक्वार्टरको प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै शर्माले आफूले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाली सेनाको सङ्ख्या यति हुनुपर्छ उति हुनुपर्छ भनेर सुनेको बताए ।

‘सञ्चारमाध्यम र समाजिक सञ्जालबाट प्रसारित हुने भ्रामक प्रचारबाजीबाट तपाईंहरू टाढा रहनुपर्छ । तपाईंहरुलाई जान्न इच्छा भए हाम्रो विभाग, नेपाल सरकारका आदेश तथा निर्देशनबाट प्रष्ट बुझ्न सकिन्छ,’ उनले भने, ‘समय समयमा कसको इसारामा हो बाहिरबाट नेपाली सेनाको सङ्ख्या यति हुनुपर्छ उति हुनुपर्छ, यस्तो साइजको हुनुपर्छ भनेर नचाहिँदो नचाहिँदो कुराहरू पनि हुने गर्छ । यो हास्यास्पद हो भन्छु ।’

नेपाली सेनाको सङ्ख्या कति हुने भन्ने कुरा स्वयम् नेपाल सरकारले घोषणा गर्ने उनले बताए । नेपाली सेनाले संविधानसम्मत निर्वाह गरिरहेका जिम्मेवारीहरूको बारेमा बेला मौकामा प्रश्न उठिरहेको उनको भनाइ छ ।

‘कुनै वर्ग र केही अंशियारहरूले दुष्प्रचार गर्ने, उद्देश्यले अनर्गलका लागि र यसका प्रचारहरू हुने गरेको तयाईंहरुलाई थाहा छ,’ उनले भने, ‘आफ्नो काम गर्दा कति चाहिने हो । नेपाल सरकारले निर्धारण गर्छ न कि कुनै आईएनजिओमा बसेर आफू स्वघोषित प्रज्ञा, स्वघोषित विज्ञ, सुरक्षाविज्ञले भन्ने होइन । यो नेपाल सरकारको काम हो ।’