• फाल्गुन २९ २०८२, शुक्रबार

दैनिक बढ्दैछ सुनको भाउ, विश्व बजारको प्रभावले सुनको भाउ अझै बढ्ने

चैत्र ६ २०७९, सोमबार

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ तोलाको एक लाख १० हजार रूपैयाँ पुग्यो। सोमबार तीन सय रुपैयाँ सस्तो भयो यद्यपी सुनको भाउ बढ्ने क्रम बढ्ने संकेत देखिएको छ ।

नेपाली बजारमा सुनको भाउ बढ्नुमा विश्व बजारको भूमिका छ। सुन सर्वस्वीकार्य सम्पत्ति माध्यम भएकाले युद्ध, महामारी, विश्वव्यापी मन्दी जस्ता समस्यामा यसको मूल्य बढ्छ।

अमेरिकामा केही समयको अन्तरालमा तीन बैंक डुबे। सिलिकन भ्याली बैंक, सिल्भरगेट बैंक र सिग्नेचर बैंक समस्यामा परे। यी बैंक प्रणालीगत जोखिम निम्त्याउने किसिमका होइनन्। तैपनि यसको प्रभाव डलरमा पर्ने देखिएसँगै सुनमा मानिसहरू आकर्षित भएका हुन्।

भारतीय विश्लेषक सुगन्धा सचदेवाका अनुसार विकसित मुलुकका बैंकहरूमा आएको समस्या, हालै युरोपियन केन्द्रीय बैंकले ५० आधार विन्दुले बढाएको ब्याजदरका कारण युरोपियन मुद्रा युरो बढिरहेको छ। डलरको मूल्य भने घटिरहेको छ। यसले पनि सुनको भाउ बढाउन सहयोग पुगेको छ।

अर्कोतर्फ प्राविधिक विश्लेषण आधारमा सुनको कारोबार मूल्यमा देखिएको प्रतिऔंस १९३० डलरको प्रतिरोध समेत पार गरेकाले सुनको मूल्य थप बढ्ने आकलन छ। यसै साता सुनको मूल्य प्रतिऔंस २ हजार डलर अर्थात् प्रति दस ग्राम भारू ६० हजार पुग्ने अनुमान भारतीय विश्लेषकहरूको छ। यसो हुँदा नेपालमा सुन प्रतितोला १ लाख २१ हजारसम्म पुग्ने सम्भावना छ ।