काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः फेसबुक र युटुब चलाउन थालेका छन् । प्रतिबन्धको दुई वर्षपछि उनी फेसबुक र युट्युबमा फर्किएका हुन् ।
नेपाली समय अनुसार शनिबार बिहान उनले यी दुवै प्लेटफर्ममा ‘म फर्किएँ’ शीर्षकको ११ सेकेन्डको भिडियो पोस्ट गर्दै सामाजिक सञ्जालमा पुनरागमनको जानकारी दिएका थिए । भिडियोमा उनले सन् २०१६ को चुनावी सफलतापछि ‘यत्तिका समय पर्खाउनु परेकोमा क्षमा चाहन्छु, प्रक्रिया जटिल छ’ भन्दै गरेको दृष्य राखिएको छ ।
ट्रम्पले यसअघि सन् २०२१ को जनवरी ६ मा अमेरिकी संसद भवन क्यापिटल हिलमा हुलदंगा हुनुभन्दा केही समयअघि मात्रै अन्तिम पटक फेसबुकमा लेखेका थिए ।
दोस्रो पटक राष्ट्रपति बन्ने चाहना अधुरो रहेको झोंकमा संसदमा हिंसा भड्काउन प्रेरित गरेको भन्दै उनलाई जनवरी ७ देखि फेसबुक र इन्स्टाग्राममा प्रतिबन्ध लगाइएको थियो ।