काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ अर्को हप्ता रुस भ्रमणमा जाँदैछन् । चीनको विदेश मन्त्रालयले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा राष्ट्रपति सी अर्को साता रुसको भ्रमण गर्ने घोषणा गरेको छ ।
एक वर्षअघि सुरु भएको रुस-युक्रेन युद्धपछि सीको यो पहिलो रुसको भ्रमण हुन लागेको हो । चिनियाँ विदेश मन्त्रालयका अनुसार भ्रमणका क्रममा सी र पुटिनले दुई देशबीचको ‘रणनीतिक सहयोग’ का विषयमा छलफल गर्ने भएका छन् । क्रेमलिन र बेइजिङबाट शुक्रबार एकसाथ जारी गरेको विज्ञप्ति जारी गरेका छन् ।
‘वार्ताका क्रममा रुस र चीनबीचको वृहत्त साझेदारी सम्बन्ध र रणनीतिक सहयोगको थप विकास गर्ने विषयमा छलफल हुनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय क्षेत्रमा रुस-चीन सहयोगलाई बलियो बनाउने सन्दर्भमा विचारको आदानप्रदान गर्ने र धेरै महत्वपूणर् द्विपक्षीय दस्तावेजहरूमा हस्ताक्षर हुनेछ ।’
चीनले युक्रेन युद्धको विषयमा आफूलाई तटस्थ शान्तिको पक्षमा प्रस्तुत गर्ने प्रयास गर्दा यो भ्रमण हुन लागेको हो । मस्को र बेइजिङको बढ्दो मित्रतालाई लिएर पश्चिमी शक्तिराष्ट्रहरू सशंकित भएका छन् । खास गरी अमेरिका र युरोपका केही देशहरु रुस र चीनको सहकार्यलाई देखेर अत्तालिइरहेका बताइन्छ ।