काठमाडौं । चीनले कोरोना महामारी फैलिएपछि विदेशीमाथि लगाएको यात्रा प्रतिबन्ध हटाएको छ । बुधबारदेखि विदेशीलाई भिसा जारी गरिने त्यहाँको विदेश मन्त्रालयले जनाएको छ ।
महामारी नियन्त्रण गर्न सरकारले केही महिना अघिसम्म कठोर ‘शून्य कोभिड रणनीति’ अवलम्बन गरेको थियो । सरकारको पछिल्लो निर्णयले बाहिरी संसारका निम्ति चीन पुनः खुलेको छ ।
चिनियाँ विदेश मन्त्रालयको कन्सुलर अफेयर्स ब्युरोसँग सम्बद्ध सामाजिक सञ्जालमार्फत् जारी गरिएको सूचना अनुसार नयाँ भिसा आवेदनको समीक्षा र स्वीकृतिका साथै सन् २०२० मार्च २८ अघि जारी गरिएका तर म्याद नगुज्रिएका भिसावाहकले पुनः चीनमा प्रवेश गर्न पाउनेछन् ।
राष्ट्रसंघीय विश्व पर्यटन संगठनका अनुसार महामारी प्रारम्भ हुनुअघि अर्थात् सन् २०१९ मा ६ करोड ५७ लाख अन्तराष्ट्रिय पर्यटकले चीन भ्रमण गरेका थिए ।