• फाल्गुन २७ २०८२, बुधबार

युक्रेनी सेना रुसी सेनाको घेराउमा, डोनेट्स्क क्षेत्र रुसको नियन्त्रणमा जाने निश्चित

फाल्गुन २० २०७९, शनिबार

काठमाडौं । युक्रेनको सेनाले विगत २४ घण्टामा डोनेट्स्क क्षेत्रमा धेरै ठूला रुसी आक्रमणलाई विफल बनाएको दाबी गरेको छ । रुसी सेनाले भने पूर्वी सहर बाख्मुत कब्जा गर्न लागेको बताएको छ । बाख्मुतमा विगत केही महिनादेखि भीषण लडाइँ जारी छ ।

रुसको निजी सेना वाग्नर आर्मीका प्रमुखले बाख्मुतलाई चारैतिरबाट घेरिएको र अहिले लड्नका लागि युक्रेनसँग धेरै स्रोत साधन बाँकी नभएको बताए । उही समयमा सहरका उपमेयर ओलेक्जेन्डर माराशेन्कोले बीबीसीलाई रुसी र युक्रेनी सैनिकहरू बीच सडक सडकमा लडाइँ भएको बताएका छन् ।

उनले रुसले अहिलेसम्म सहरलाई नियन्त्रण गर्न नसकेको बताएका छन् । उनीहरुले सहरमा लगातार बम विष्फोट भइरहेको बताएका छन् । उनले भने, ‘उनीहरूको शहर बचाउने कुनै मनसाय छैन । तिनीहरूको उद्देश्य केवल मानिसहरूलाई मार्नु र युक्रेनका जनता विरुद्ध नरसंहार गर्नु हो ।’

बेलायती रक्षा मन्त्रालयले पनि बाख्मुतमाथिको दबाब निरन्तर बढिरहेको बताएको छ । बेलायती खुफिया रिपोर्टहरूका अनुसार वाग्नर समूह र रुसी सेनाहरू विशेष गरी उत्तरी क्षेत्रहरूमा बाख्मुत शहरमा अगाडि बढेका छन् । अहिले युक्रेन नियन्त्रित सहरमा तीन तर्फबाट आक्रमणको खतरा छ ।