• मंसिर १५ २०८१, शनिबार

न्यासिम खोला जलविद्युत आयोजना तोडफोड गर्नेलाई कारवाही गर्न प्रधानमन्त्रीसित माग

फाल्गुन १८ २०७९, बिहीबार

 काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल र सरकारका मुख्य सचिव शंकरदास बैरागीलाई भेटेर न्यासिम खोला जलविद्युत आयोजनामा तोडफोड गर्नेलाई कारबाही गर्न माग गरेको छ ।

फागुन १५ गतेका दिन सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका-३ स्थित सीता हाइड्रोपावर प्रालिले निर्माण गरिरहेको ३५ मेगावाटको न्यासिम खोला जलविद्युत आयोजनाको निर्माणस्थलमा एक समूहले गरेको आगजनी, तोडफोड तथा कर्मचारीमाथिको साङ्घातिक आक्रमणमा संलग्नलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न तथा सो आक्रमण निष्पक्ष छानबिनका लागि कार्यदल निर्माण गर्न ईप्पानले लिखित माग गरेको हो ।

विभिन्न बहानामा आयोजना प्रवद्र्धकलाई मानसिक र भौतिक भय, त्रास उत्पन्न गराएर अनुचित लाभ प्राप्त गर्न आयोजनास्थलमा यस्ता आपराधिक गतिविधि शृङ्खलाबद्ध हुन थालेपछि ईप्पानले प्रधानमन्त्रीलाई आज भेटेर यसबारेमा गम्भीर ध्यानाकर्षण गराएको छ ।

आयोजनास्थलमा हुने यस्ता आपराधिक क्रियाकलाप हुन नदिन सरकारले आयोजनास्थलमा सुरक्षाको उचित प्रबन्ध गर्न र त्यस्ता क्रियाकलापमा संलग्न आपराधिक जमातलाई कडाभन्दा कडा कानुनी कारबाहीको दायराभित्र ल्याएर उनीहरूबाटै पीडक पक्षलाई उचित क्षतिपूर्ति भराउने व्यवस्था गर्न पनि ईप्पानले सरकारसँग मागसमेत गरेको छ ।

यसक्रममा प्रधानमन्त्रीले जलविद्युत आयोजनामाथि भएको त्यस प्रकारको आक्रमणबाट आफू दुखी भएको बताउँदै आक्रमणमा संलग्न जो कोही भए पनि तिनलाई कानुनी कारबाहीको लागि नेपाल सरकारले तत्काल कदम चाल्ने प्रतिबद्धता जनाउँदै गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति निर्माण गर्ने जानकारी दिएका छन् ।