• मंसिर ११ २०८१, मंगलवार

पहुँचवालाबाटै सरकारी ढुकुटी हिनामिना कति जायज ?

फाल्गुन १७ २०७९, बुधबार

सरकारले पछिल्लो सात महिनामा साढे पाँच करोड रुपैयाँ सहायताका नाममा बाँडेपछि जनस्तरमा बहस चलेको छ, ‘के यसरी मनोमानी गर्न पाइन्छ ?’ पहिलेका वर्षहरूमा यसको त्यति चासो र हेक्का नराखिए पनि यो वर्षमा भने सरकारी ढुकुटी हिनामिनाको विषय सार्वजनिक चासो बनेर उभिएको छ ।

अर्थ मन्त्रालयको आँकडा केलाउँदा मात्र पनि गत साउनदेखि माघ मसान्तसम्म विभिन्न व्यक्ति र संस्थाहरूलाई सरकारले पाँच करोड ४६ लाख ३३ हजार रुपैयाँ सहायताका नाममा बाँडिसकेको छ ।

हरेक महिना लाखौं रूपैयाँ बाँड्दै गर्दा ६ महिना नबित्दै यसको भार ६ करोडको हाराहारीमा पुगिसकेपछि सरकारी ढुकुटी कुनै दान केन्द्र त होइन भनी गम्भीर प्रश्न उठाइएको छ । साउन महिहनामा २४ लाखबाट बाँड्न सुरू गरिएको रकम हरेक महिना चुलिँदै गएपछि यो रासी करोडौं हुन पुगेको छ ।

भदौमा ८८ लाख ७२ हजार, असोजमा एक करोड ३० लाख ८४ हजार, कात्तिकमा ४४ लाख, मंसिरमा २५ लाख, पुसमा एक करोड ४१ लाख ७७ हजारहुँदै माघ महिनामा ९२ लाख रुपैयाँ सहायताका नाममा सरकारले बाँडचुँड गरिसकेको छ ।

यो बाँडचुँड सामान्य र गरीब नागरिकको नाममा भएको होइन । बरू राज्यबाट निरन्तर सहयोग र सुविधा लिइरहेकाहरूलाई थप सहयोग गरिएको हो । यसरी रकम बाँडिने कार्यको चर्को विरोध हुँदै आए पनि सरकारले आफ्ना नेता, कार्यकर्ता र तिनले चलाएका संस्थाहरूलाई रकम बाँड्ने काममा निरन्तरता दिइरहेको छ ।

सरकारले २०७९ साउनदेखि माघ महिनासम्म बाँडेको रकम लिनेहरूमा पूर्वराष्ट्रपति डा.रामवरण यादव र पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि सामेल छन् । जब कि उनीहरूले पूर्व भीआईपीका नाममा राज्यकोषबाट वैधानिक रूपमा सेवा र सुविधा दोहन गरिरहेकै छन् ।

यस्ता वैधानिक दोहनकर्ताको नाम र संख्या सरकारी कार्यालयमा सरकार आफैले निर्माण गरेका कानुनी अधिकारसहित दर्ता छन् । यिनको खर्च हिसाबको लेखाजोखा छैन । त्यसमाथि पनि हरेक महिनाजसो लाखौं र करोडौं रूपैयाँ उनीहरूको भागमा थप हुँदै आएको छ ।

त्यस रासीलाई लाज नै नमानी अर्थमन्त्रालयले खर्चको फाँटवारीमा समावेश गर्दै आएको छ । सर्वसाधरण जनताका लागि हजार रूपैयाँले ज्यान जोगाउन सक्छ । तर भीभीआईपीहरूका लागि लाखौं तथा करोडौं रूपैयाँ देखाउनका लागि ‘विरामी खर्च’ शीर्षकमा समावेश गरिए पनि चिया र नास्तामा खर्च हुने गरेका छन् ।

नेपाल ठूलाबडा पाल्ने देश रहँदै आएको छ । अहिले पनि प्रजातन्त्रका नाममा शक्ति र सत्तामा आसिन नवकुलिन र नवसम्भ्रान्तहरूकै लूट चलिरहेको छ । आफन्त र आसेपासे बाहेक अरू विराना हुने नवकुलिनतन्त्रले विगतको विरासत मज्जासँगधानिरहेको छ ।