• मंसिर ७ २०८१, शुक्रबार

साइबर अपराधबाट बच्न प्रयोगकर्ता पनि साक्षर हुनुपर्छ : साइबर ब्यूरो प्रमुख अर्याल

फाल्गुन ११ २०७९, बिहीबार

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरो प्रमुख एसएसपी नविन्द अर्यालले साइबर सुरक्षाको कार्यान्वयनका लागि प्रयोगकर्ता पनि साक्षर हुनुपर्ने बताएका छन् ।

कान्तिपुर मिडिया ग्रुपले बिहीबार आयोजना गरेको साइबर सुरक्षा बारे जानकारी दिने कार्यक्रममा आफ्ना कुरा राख्दै एसएसपी अर्यालले पछिल्लो समय विभिन्न अनलाइन पोर्टल र अनलाइन कारोबारका नाममा साइबर ठगी भइरहेको बताए ।

एसएसपी अर्यालले साइबर सुरक्षालाई थप मजबुत बनाउनका लागि दक्ष जनशक्तिका साथै क्षमता विकास लगायतका कुरालाई विशिष्टकृत रूपमा अध्ययन गरेर सुरक्षा रणनीति बनाउनुपर्ने बताए ।

एसएसपी अर्यालले भने, ‘पछिल्लो समय डेटिङ पोर्टलको दुरुपयोग बढिरहेको छ । त्यस्तै विद्युतीय कारोबार सम्बन्धी ठगी पनि बढिरहेको छ । ओटीपी, वालेट लगायतका कुरामा सेवाग्राही ठगिएका छन् ।’

वित्तीय तथा विभिन्न क्षेत्रमा देखिएको साइबर असुरक्षाको सामना गर्नका लागि प्रमाणित सफ्टवेयरहरूको प्रयोग हुनुपर्ने एसएसपी अर्यालले बताए । साइबर अपराधहरू न्यूनीकरण तथा नियन्त्रणका लागि नेपाल प्रहरीले प्रदेशमा समेत साइबर ब्युरोको विस्तारका लागि काम गरिरहेको ब्युरो प्रमुख अर्यालले जानकारी दिए ।