काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रूसलाई हतियार उपलब्ध नगराउन चीनलाई सचेत गराएका छन् । सोमबार एक अखबारलाई अन्तर्वार्ता दिने क्रममा जेलेन्स्कीले चीनले रूसलाई हातहतियार उपलब्ध गराए विश्वयुद्ध हुन सक्ने चेतावनी दिए ।
एक वर्षअघि सुरू भएको रूस-युक्रेन युद्ध जारी छ । यो युद्धमा चीनले रूसलाई सहयोग गरिरहे र हतियार उपलब्ध गराए विश्वयुद्ध हुनसक्ने भन्दै जेलेन्स्कीले सचेत गराएका साउथ चाइना मर्निङ पोस्टले लेखेको छ ।
गत शनिबार अमेरिकी विदेशमन्त्रीले उनका चिनियाँ समकक्षीलाई युक्रेनसँगको युद्धमा बेइजिङले रूसलाई हतियार उपलब्ध नगराउन सचेत गराएका थिए । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रूसलाई हतियार र सरसामान उपलब्ध गराउँदाको नतिजा के हुनेछ भनेर चिनियाँ उच्च कुटनीतिज्ञ वाङ यीलाई सचेत गराएका हुन् ।
अमेरिकी विदेशमन्त्री एन्टोनीको भनाइपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले चीनलाई सचेत गराएका हुन् । ‘चीनले रूसलाई युद्धमा सहयोग नगर्नु हाम्रा लागि ज्यादै महत्वपूणर् छ,’ जेलेन्स्कीले जर्मन डेली डाइ वेल्ट अखबारलाई भने, ‘वास्तवमा म चीन हाम्रो पक्षमा होस् भन्ने चाहन्छु तर अहिलेको समयमा मलाई यो सम्भव हुन्छ भन्ने चाहिँ लाग्दैन ।’
उनले थपे, ‘यहाँ के भइरहेको छ भन्नेबारे चीनले संवेदनशील भएर मूल्यांकन गर्ने अवसर पनि म देख्छु । किनकी यदि चीन रूससँग मिल्यो भने विश्व युद्ध हुनेछ । र, चीनलाई पनि यो कुरा थाहा छ भन्ने मलाई लाग्छ ।’ सोमबार दिउँसो जेलेन्स्कीको भेट अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भएको थियो । बाइडेन अचानक युक्रेनको राजधानी किभ पुगेका थिए ।
रूसले युक्रेनमाथि आक्रमण गरेको एक वर्ष पुग्न लाग्दा राष्ट्रपति बाइडेनले किभ भ्रमण गरेका हुन् । किभ पुगेपछि ट्विट गर्दै बाइडेन युक्रेनको प्रजातन्त्र, सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रतिको अमेरिकाको पूणर् प्रतिबद्धता व्यक्त गर्न रूसी आक्रमणको एक वर्ष पुग्न लाग्दा आफूले आज युक्रेनको भ्रमण गरेको बताएका छन् ।
एक वर्षअघि युक्रेनमाथि आक्रमण गर्दा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सजिलै युद्ध जित्ने सोचे पनि त्यस्तो हुन नसकेको बाइडेनले उल्लेख गरेका छन् ।
‘झन्डै एक वर्षअघि यो अतिक्रमण सुरू गर्दा पुटिनले युक्रेन कमजोर छ, पश्चिमाहरू विभाजित छन् भन्ने सोचेका थिए । उनले हामीलाई हराउने सोचेका थिए तर उनी पूरै गलत थिए,’ बाइडेनले भनेका छन् ।
द न्युयोर्क टाइम्सका अनुसार बाइडेन सोमबार युक्रेनसँग जोडिएको पोल्यान्डको सीमाबाट रेल चढेर किभ पुगेका हुन् । सुरक्षाका कारण उनको भ्रमण गोप्य राखिएको थियो । ह्वाइट हाउसका अधिकारीहरूले यसअघि राष्ट्रपति बाइडेन एउटा कार्यक्रमका लागि वार्सा पुग्ने बताएका थिए ।
निर्धारित योजनाभन्दा पहिला नै पोल्यान्ड पुगेका बाइडेन रेल चढेर किभ गएका हुन् । गत वर्ष फेब्रुअरी २६ मा रूसले युक्रेनमाथि तीनतिरबाट हमला गरेको थियो । जारी युद्धमा अहिलेसम्म दुबैतर्फका हजारौं सैनिकले ज्यान गुमाएका छन् ।
अमेरिका, बेलायत लगायत पश्चिमा र नेटो राष्ट्रहरूले यो युद्धमा युक्रेनलाई सैन्य तालिम र सामग्री दिएर सहयोग गरिरहेका छन् । केही समयअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकाको भ्रमण गरेका थिए । बाइडेनको युक्रेन भ्रमणबारे विस्तृतमा केही खुलाइएको छैन ।