काठमाडौं । चीनले आकाशमा उडाएको बेलुनका कारण चीन र अमेरिकाबिच हाल चर्को विवाद पैदा भएको छ । आपसमा प्रतिष्पर्धी देशहरुकाबिचमा आइपरेको यो विवादले विश्वकै ध्यान तानेको छ । सो बेलुन कसैको जासुस गर्न नभई वैज्ञानिक अनुसन्धानका लागि पठाइएको र भुलवस बेलुन अमेरिकातिर प्रवेश गरेको भन्दै चीनले माफी मागिसकेको अवस्था छ तर पनि अमेरिका यो माफीलाई विश्वास गर्ने अवस्थामा छैन ।
कारण हो, उनीहरुबिचको प्रतिष्पर्धा र सामरिक द्वन्द । उता बढ्दो विवादकाबिच अमेरिकाले राष्ट्रिय सुरक्षा टोलीलाई शङ्कास्पद वस्तु पत्ता लगाउन निर्देशन समेत दिएको छ । राष्ट्रपति जो बाइडेनले अमेरिकी राष्ट्रिय सुरक्षा टोलीलाई वायुमण्डलमा मानवरहित तरिकाले राखिन सक्ने शङ्कास्पद वस्तुहरू पत्ता लगाउने संयन्त्रको विकास गर्न निर्देशन दिएको बीबीसीले जनाएको छ ।
पछिल्लो अनुसन्धानमा यसअघि अमेरिकी आकाशमा फेला परेका ती वस्तु मौसम अध्ययन गर्ने वा अन्य वैज्ञानिक अनुसन्धान सञ्चालन गर्ने संस्थासँग सम्बन्धित रहेको देखिएको थियो । चीनले अमेरिकी आकाशमा भेटिएका बेलुन जासुसी नभएको दाबी गर्दै आएको छ । चीन अमेरिकाबिच विवाद भइरहेका बेला ताइवानको आकाशमा पनि चिनियाँ बेलुनले जासुसी गरिरहेको खबर सार्वजनिक भएको छ तर यसबारेमा ताइवानको रक्षा मन्त्रालयले चिनियाँ मौसमसम्बन्धी बेलुन देखिएको बताएको छ ।
यी यस्ता घटनाले विश्वको राजनीतिलाई नै तरंगित बनाइरहेका छन् । त्यसकारण कुनै वैज्ञानिक परिक्षण र अन्य कुनै प्राविधिक वस्तुको परिक्षणमा शक्तिराष्ट्रहरुले निकै ध्यान पुर्याउनु पर्ने शिक्षा यो घटनाले दिएको छ । जसबाट विश्वमा शान्ति नखल्बलियोस् ।