• फाल्गुन २७ २०८२, बुधबार

चीनतिर नेपाली सामान निर्यात गर्न चीन सकारात्मक

फाल्गुन ४ २०७९, बिहीबार

काठमाडौं । चीनतिर आयात मात्रै भइरहेको तातोपानी नाकाबाट निर्यात पनि खुलाउन चीन सरकार सकारात्मक देखिएको छ । तातोपानीस्थित मितेरीपुलमा नेपाल र चीनका सरकारी अधिकारीहरूबीच भएको बैठकमा निकासी पनि खुलाउने गरी छलफल सुरु भएको बताइएको छ । तर, कहिलेदेखि दुईतर्फी नाका सञ्चालन गर्ने भन्नेबारे सहमति नभएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए ।

अध्यागमन कार्यालय कोदारीका प्रमुख दीपक अधिकारी भने यो प्रारम्भिक छलफल मात्रै भएको बताउँछन् । बैठकमा चिनियाँ अधिकारीहरूले तातोपानी नाका पूर्ववत् सञ्चालनका लागि के गर्न सकिन्छ भनेर नेपालका अधिकारीसँग सुझाव मागेको प्रजिअ न्यौपानेले बताए । निकासी वस्तुको चेकजाँच गर्न खासाको रमितेमा निकासी घर निर्माणाधीन रहेको पनि बैठकमा जानकारी गराइएको उनले बताए ।

बैठकमा नेपालबाट सिन्धुपाल्चोक जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सारका प्रमुख तथा चीनबाट न्यालमकाउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन लगायत अधिकारीहरूको सहभागिता रहेको थियो ।

भूकम्पपछि २०७६ जेठ १५ मा नाका एकतर्फी सञ्चालन भएको थियो तर सोही वर्षको चैत ११ मा कोरोना भाइरस नियन्त्रण गर्न देशभर लकडाउनको घोषणा गरेपछि तातोपानी नाकाबाट हुने आयात वर्ष दिन जति रोकिएको थियो । विसं २०७७ मा दुवै देशका स्थानीय अधिकारीले मितेरी पुलमा पाँच मिटर टाढा रहेर बैठक गरेका थिए । त्यसपछि यो नै पहिलो प्रत्यक्ष बैठक हो ।