काठमाडौं । सोमबार काठमाडौंमा यातायात मजदुरहरूको प्रदर्शनका क्रममा नयाँबसपार्क नजिक रहेको ल्होत्से मलमा सञ्चालित मोबाइल पसलमा लुटपाट भएको थियो । पसलको सिसा र सटर तोडेर समेत मोबाइल लुटिएको थियो । पसल तोडेर मोबाइल लुट्दै गरेको दृश्य कैद भएका भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट भएका छन् । पसलको सीसीटीभी फुटेजसमेत सार्वजनिक भएको छ ।
नेपाल मोबाइल व्यवसायी महासंघका उपाध्यक्ष समेत रहेका पसलका सञ्चालक अर्जुन चालिसेले करिब ८/९ करोड रुपैयाँ बराबरको मोबाइल लुटिएको सञ्चारमाध्यमलाई जानकारी दिए । ल्होत्से मलमा रहेका उनको दुईवटा मोबाइल पसलमा लुटपाट भएको हो । चालिसेको एसीडीसी मोबाइल पसल र डायमन्ड स्टार इन्भेस्टमेन्ट ग्रुप प्रालिमा लुटपाट भएको हो । चालिसेका अनुसार मलमा भएको काठमाडौं सुपर मार्केटमा समेत लुटपाट भएको छ ।
नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराईले सोमबारको घटनामा संलग्नलाई कारबाही र व्यवसायीलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने बताए । अध्यक्ष भट्टराईले भने, ‘२ वटा पसलमा करिब ८/९ करोड रुपैयाँ बराबरको लुटपाट भएको छ । दिनदहाडै हाम्रा पसलमा लुटपाट भएको छ । व्यवसायीले गरीखाने वातावरण देखिएन । राज्यले क्षतिपूर्ति नदिए हामीले संघर्षका कार्यक्रमहरू अगाडि बढाउँछौँ ।’
दिउँसै यसरी लुटपाट हुँदा व्यवसायीहरूको आत्मबल कमजोर हुने उनले बताए । आफूहरूलाई विभिन्न ९ वटा व्यवसायी संघको समर्थन रहेको पनि अध्यक्ष भट्टराईले बताए । महासंघले मंगलबार नै पत्रकार सम्मेलन गरेर संघर्षका कार्यक्रम घोषणा गर्ने उनले जानकारी दिए । आगामी फागुन ५ गते माइतीघरमा प्रदर्शन गर्ने पनि उनले जानकारी दिए ।