काठमाडौं । बीबीसी हिन्दीको दिल्ली र मुम्बईस्थित कार्यालयमा भारतीय आयकर विभागले छापा मारेको छ। करिब ६०/७० जना विभागका कर्मचारीले कार्यालयमा छापा मारेको दैनिक भाष्करले जनाएको छ।
बीबीसीको कार्यालयमा रहेका सबै कर्मचारीको फोन जफत गरेर विभागले छापा मारेको बताइएको छ। साथै, कर्मचारीलाई आवागमनमा पनि प्रतिबन्ध लगाइएको उल्लेख छ। यस्तै, बीबीसी हिन्दीले आफ्नो कार्यालयमा छापा मारेको सूचना लण्डनस्थित बीबीसीको प्रधान कार्यालयलाई जानकरी गराएको छ।
भारतीय आयकर विभाग स्रोतका अनुसार बीबीसी हिन्दीले करमा गडबड गरेकोले छापा मारेको समाचार सार्वजनिक भएको छ। यद्यपि, आयकर विभागले यसबारे आधिकारिक जानकारी दिएको भने छैन।
यता, बीबीसीमा छापा मारेको विषयमा भारतीय कंग्रेसले कडा आपत्ति जनाएको छ। उक्त पार्टीको आधिकारिक ट्विटर हेण्डलमार्फत अघोषित आपतकालको संज्ञा दिएको छ।