काठमाडौं । गत सोमबार गएको भूकम्पमा परी टर्कीमा २४ हजार बढी मानिसको मृत्यु भएको छ । छिमेकी सिरियामा ४ हजार बढी मानिसले ज्यान गुमाएमा छन् । ७.८ म्याग्नेच्युडको उक्त भूकम्पले टर्कीका १० सहरमा प्रभावित भएका थिए । ती सहरमा एक–दुई तले निजी घर मात्र होइनन्, गगनचुम्बी महल पनि भत्किएका थिए ।
ती अग्ला भवन बनाउँदा भवन संहिताको पूर्ण पालना नगरेको भन्दै सरकारले अहिले धमाधक ठेकेदारहरूलाई पक्राउ गरिरहेको छ । द न्युयोर्क टाइम्सका अनुसार १० सहरका १०० जना बढी ठेकेदार पक्राउ परिसकेका छन् । टर्कीको न्याय मन्त्रालयले प्रान्तीय अधिकारीहरूलाई भूकम्प अपराध अनुसन्धान युनिट बनाउन निर्देशन दिएको छ । मापदण्ड पूरा नगरी भवन बनाउने विरूद्ध फौजदारी अभियोगमा मुद्दा चलाउन अभियोजनकर्ता नियुक्त गर्न पनि मन्त्रालयले भनेको छ ।
भूकम्पमा यति धेरै मानिसहरू मर्नुको प्रमुख कारण भवनहरू मापदण्ड पूरा नगरी बनाइनु भएको भन्दै टर्कीमा व्यापक जनआक्रोश छ । मृतकको संख्या बढ्दै गएका बेला सरकारले उक्त जनआक्रोशलाई मत्थर गर्न ठेकेदार पक्राउ गर्न थालेको हो । विगत २५ वर्षमा टर्कीले भोगेको यो दोस्रो ठूलो भूकम्प हो ।
यसअघि सन् १९९९ मा इस्तानबुल नजिकै केन्द्रविन्दु बनाएर आएको ७.६ म्याग्नेच्युडको भूकम्पमा परी झन्डै १८ हजार मानिसको मृत्यु भएको थियो । त्यतिबेला मापदण्ड पूरा नगरी बनाइएका धेरै घरहरू भत्किएका थिए ।
आपतकालीन उद्धारको प्रभावकारी संयन्त्र नहुँदा पनि त्यतिबेला धेरै मानिसहरूले ज्यान गुमाएका थिए । अहिलेका राष्ट्रपति रेसेप तैइियप एर्दोगानको दल जस्टिस एन्ड डेभलपमेन्ट पार्टी सन् २००२ मा सत्तामा आएपछि आपतकालीन उद्धारको संयन्त्रमा सुधार गरिएको थियो भने ३० लाखभन्दा बढी घरमा प्रबलीकरण गरिएको थियो ।
भवन निर्माणको मापदण्ड पूर्णरूपमा पालना हुन नसक्दा यसपालि पनि धेरै घरहरू भत्किएका छन् । टर्की भूकम्प आइरहने क्षेत्रमा पर्छ । टर्कीको धेरै भू–भाग एनाटोलियन प्लेटमा पर्छ । सन् १९३९ मा आएको भूकम्पमा परी टर्कीमा ३० हजार बढी मानिसको मृत्यु भएको थियो ।