काठमाडौं । अमेरिकाको वासिंगटन डीसीस्थित आफ्नै अपार्टमेन्ट भवनको लिफ्टमा एकजना कंग्रेस महिलालाई आक्रमण गर्ने एक पुरुषलाई प्रहरीले गिरफतार गरेको छ । प्रहरी प्रतिवेदन अनुसार आक्रमणकारीसँग प्रतिवाद गर्ने क्रममा मिन्नेसोटाका डेमोक्रेट एन्जी क्रेइगले उनीमाथि कफी छ्यापेकी थिइन् ।
केन्द्रिक ह्यामलिन नामक ती पुरुषमाथि उनलाई मुक्का प्रहार गरेको तथा उनको घाँटी न्याकेको अभियोग लगाइएको छ । निश्चित ठेगाना नभएका उनीमाथि सामान्य आक्रमणको अभियोग दायर गरिएको छ । यो घटनाको राजनीतिसँग कुनै सरोकार नरहेको पनि बीबीसीले लेखेको छ । सन् २०१८ मा कंग्रेसमा निर्वाचित ५० वर्षीया क्रेइग चार सन्तानकी आमा हुन् ।
उनी कंग्रेसको समानता ककसको उपाध्यक्षको रुपमा कार्यरत छिन् । क्रेइगका प्रमुख कर्मचारी निक कोएले एक विज्ञप्तिमार्फत् बताएका छन्,‘स्थानीय समय अनुसार बिहीबार बिहान करिब सात बजेर १० मिनेट जाँदा क्यापिटल हिल नजिकको व्यस्त एच स्ट्रिट क्षेत्रमा रहेको उनको अपार्टमेन्ट भवनमा यो घटना घटेको हो । आक्रमणमा उनलाई सामान्य शारीरिक चोट लागेको छ ।
उनले ९११ इमर्जेन्सी सर्भिसलाई फोन गर्नासाथ आक्रमणकारी घटनास्थलबाट भागेका थिए । क्रेइगलाई लागुऔषध सेवन गरेका जस्तो देखिने तिनले लिफट्मा पछ्याएका थिए । उनले अचानक त्यहाँ पुस अप गर्न थाले । क्रेइगले अभिवादन गर्नासाथ उनले उनको चिउँडोमा मुक्का हाने । त्यसपछि आफ्नो बचावमा उनले तातो कफि छ्यापेकी हुन् ।’