• फाल्गुन २७ २०८२, बुधबार

अमेरिकी अधिकारी पछि भारतीय विदेश सचिव क्वात्रा नेपाल आउँदै

माघ २७ २०७९, शुक्रबार

काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा सोमबार नेपाल आउँदै छन् । उनी २ दिने नेपाल भ्रमणका लागि नेपाल लागेका हुन् । दुबै देशका परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै क्वात्राको भ्रमणबारे जानकारी दिएका छन् । परराष्ट्र मन्त्रालयले परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा क्वात्रा नेपाल आउन लागेको जानकारी दिएको छ ।

भ्रमणका क्रममा क्वात्राले समकक्षी पौड्यालसँग औपचारिक छलफल गर्ने छन् । उक्त छलफलमा दुई पक्षीय सहकार्यका विभिन्न पक्ष जस्तै कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्यबारे छलफल हुनेछ ।

यसअघि गत भदौमा परराष्ट्र सचिव पौड्यालले भारत भ्रमण गरेका थिए । क्वात्राको भ्रमण नेपाल र भारतबीच भइरहेको उच्चस्तरीय भ्रमणको निरन्तरता भएको उल्लेख गर्दै परराष्ट्र मन्त्रालयले उनको भ्रमण दुई देशको सम्बन्धलाई अझ गहिरो बनाउने मौका हुने बताएको छ । विदेश सचिवको रूपमा क्वात्राको यो पहिलो नेपाल भ्रमण हो भने पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार बनेपछि पहिलो पटक उच्च भारतीय कूटनीतिज्ञ काठमाडौं आउन लागेका हुन् ।

क्वात्राले भारतीय राजदूतका रूपमा नेपालमा दुई वर्ष बिताएका थिए । गत चैतमा उनी भारतीय विदेश सचिव नियुक्त भएका हुन् । केही दिनअघि मात्र अमेरिकाका वरिष्ठ अधिकारीहरु नेपाल आएर फर्किसकेका छन् । त्यसभन्दा अघि चीनबाट पनि त्यहाँका विदेशमन्त्री नेपाल भ्रमण आएका थिए । ठूला, सम्पन्न र आपसमा विवादमा रहेका देशहरुका उच्चअधिकारीहरु नेपाल आउनुलाई निकै चासोका साथ हेरिएको छ ।