काठमाडौं । नेकपा (एमाले)बाट विभाजन भई एकीकृत समाजवादी गठन गरेको डेढ वर्ष नपुग्दै उसले माओवादी केन्द्रसँग एकता गर्ने चर्चा चलेको छ । हुनत स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यको निर्वाचन अगावै यी दुई दलबीच पार्टी एकताको चर्चा नचलेको होइन । तर, आजभोलि माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको एकताको चर्चा सतहमा आएको छ ।
पार्टी एकताको विषयलाई लिएर प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच यसअघि तारन्तार टेलिफोन तथा वार्ता संवाद हुँदै आएको छ । तथापि प्रचण्ड–नेपाल आपसमा भेटेरै वार्ताको संवाद अघि बढाएको केही समय भए पनि पार्टीका शीर्ष तहका नेताहरूबीच भेटवार्ता र एकता प्रयास नरोकिएको स्रोत बताउँछ ।
एक डेढ महिनाअघि नेपाली कांग्रेससँग गठबन्धन तोडेर एमाले लगायतका अन्य दलसँग सत्ता गठबन्धन गरेपछि प्रधानमन्त्री प्रचण्डसँग नेपाल रुष्ट देखिन्थे । प्रचण्डले प्रतिपक्षीसँग सत्ता गठबन्धन गरेपछि कांग्रेसका केही नेताले चर्को आलोचना गरे । तर, एकीकृत समाजवादीले मुख खोलेन । बरू अध्यक्ष नेपालले प्रचण्डले धोका दिएको भन्दै गुनासो गरे । तथापि विरोधमा आफू पनि उत्रिएनन् र पार्टीलाई उतारेनन् । उनी रुष्ट भने नदेखिएका होइनन् ।
प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनापछि संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था थियो । त्यसपछि उनले विश्वासको मत प्राप्तिका लागि विपक्षी दलहरूसँग पनि संवाद अघि बढाए । कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई प्रत्यक्ष भेटेरै उनले मत दिन आग्रह गरे ।
प्रधानमन्त्रीको आग्रहलाई स्वीकार्दै विपक्षी कांग्रेस, एकीकृत समाजवादी लगायतका दलहरूले पनि विश्वासको मत दिए । विश्वासको मत लिने र दिने सन्दर्भमा प्रचण्ड नेतृत्वको सरकारले इतिहास रच्यो । किनकि उनलाई प्रतिपक्षीले पनि विश्वासको मत दियो ।
तथापि संसद्को गति चलायमान राख्न सभामुख र उपसभामुख निर्वाचित भएसँगै राष्ट्रपति र गृहमन्त्रीको विवाद सतहमा आएको छ । राष्ट्रपति निर्वाचन हुन अझै एक महिना बाँकी नै छ । त्यसका लागि दलहरूबीच आन्तरिक गृहकार्य शुरू भईसकेको छ । यस विषयमा सत्ता गठबन्धन र प्रतिपक्षी दलहरू छलफलमा छन् भने गृह मन्त्रालय रिक्त छ । रक्त मन्त्रालयको विषयमा विवाद चुलिएको छ ।
यसअघि गृहमन्त्री बनेका रवि लामिछानेले अमेरिकी नागरिकता त्याग गरेको निस्सा जिल्ला प्रशासन कार्यालयमा बुझाएर नेपाली नागरिकता बिउँताउने प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएको थियो । सांसद पद खारेज भएसँगै रविले गृहमन्त्री पदबाट राजीनामा दिएपछि गृह मन्त्रालय रिक्त छ ।
रिक्त मन्त्रालयमा आफूलाई पुनः मन्त्री नियुक्त गर्न प्रधानमन्त्रीलाई रविले बारम्बार आग्रह गर्दै आएका छन् । उनले गृह आफूले नै पाउनुपर्ने अडान राखेका छन् भने एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि बिन्ती बिसाउँदै आएका छन् ।
गृहमन्त्रीमा रविलाई नै पुनर्निनियुक्ति गर्नुपर्ने भन्दै ओलीले प्रचण्डलाई दबाब दिएको उनी स्वयंले बताएका छन् । हिजो (बिहीबार) विराटनगर विमानस्थलमा ओलीले पनि रविलाई नै गृहमा फर्काउनुपर्ने जिकिर गरेका थिए ।
हिजो नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई दिने अल्टिमेटम दिएको छ । उसले यदि पार्टी सभापति रवि लामिछानेलाई दुई दिनभित्रै गृहमन्त्रीमा नियुक्ति नगरे सरकार छाड्ने अल्टिमेटम दिएको हो । यस विषयमा भने प्रधानमन्त्रीले हालसम्म कुनै निर्णय गरेका छैनन् ।
रास्वपाले दिएको दुई दिने अल्टिमेटमभित्रै प्रधानमन्त्री प्रचण्डले कुनै आधिकारिक निर्णय लिने अवस्था नदेखिएको स्रोत बताउँछ । किनकि रविको नागरिक्ता सम्बन्धी मुद्दाको छिनोफाने भए पनि सर्वोच्चको पूर्णपाठ अझैँ आएको छैन भने राहदानी सम्बन्धीको विवाद पनि सुल्झिएको छैन । यस्तो अवस्थामा उनलाई गृहमन्त्रीमा नियुक्त गरिए भोलि प्रधानमन्त्री स्वयंलाई अप्ठेरो हुने भएकोले उनी रास्वको अल्टिमेटमलाई चासो नदिने पक्षमा देखिएको स्रोतको दाबी छ ।
यदि दुई दिनभित्रै प्रचण्डले रविलाई गृहमन्त्रीमा नियुक्त नगरे रास्वपाले सरकार छोड्ने निश्चित छ । यस्तो अवस्था सिर्जना भए प्रमुख सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)ले विकल्पको खोजी गर्नेछ । त्यसका लागि उसको विकल्प भनेकै एकीकृत समाजवादी हो । विकल्प खोजीका लागि माओवादी केन्द्र आज (शुक्रबार)बाटै जुटेको देखिन्छ ।
मन्त्री तथा पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । श्रेष्ठ एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमै पुगेर नेपालसँग भेटवार्ता गरेका हुन् ।
भेटवार्ताको क्रममा एकीकृत समाजवादीलाई सत्तामा ल्याउनेदेखि दुई दलबीचको एकताबारे संवाद भएको स्रोतले जनाएको छ । रवि लामिछाने नेतृत्वको रास्वपाले सरकारबाट बाहिरिने अल्टिमेटम दिइरहेका बेला श्रेष्ठले नेपालसँग संवाद अघि बढाएका हुन् ।
यदि रास्वपाले सरकार छोडेको खण्डमा उसको ठाउँमा एकीकृत समाजवादीलाई भित्र्याउने माओवादी केन्द्रको रणनीति छ । यसो हुँदा गृह, शिक्षा, स्वास्थ्य लगायतका मन्त्रालय उसकै भागमा पर्ने पक्का छ ।
एकीकृत समाजवादी स्रोतअनुसार, ‘पार्टी कार्यालय आलोकनगर पुगेका श्रेष्ठ र नेपालबीच दुई दलबीच एकताको विषयमा कुरा भएको छ । गत भदौमा एकताका लागि संयोजन समिति बनाउने निर्णयमा पुगेका यी दुई दलबीच हालसम्म संवाद जारी छ । तथापि पार्टी एकताको विषयमा अझै कुरा मिल्न सकेको छैन ।’
एकताको विषयलाई लिएर हिजो (बिहीबार) एककिृत समाजवादीका उपमहासचिव डा.विजय पौडेल माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका थिए । हिजो माओवादी केन्द्रको स्थायी समिति बैठक चलिरहेकै बेला पौडेल पेरिसडाँडा पुगेर अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए ।
थप समाचार :