• बैशाख २८ २०८३, सोमबार

एमाले-माओवादीको सत्ता गठबन्धनप्रति नेकपा (एस) अझैँ रुष्ट, माओवादीसँग एकता गर्न अनिच्छुक

माघ १६ २०७९, सोमबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले लगायतका अन्य दलहरूको समर्थनमा प्रधानमन्त्री नियुक्त भएसँगै एकीकृत समाजवादी रुष्ट बनेको छ ।

एमालेबाट विभागजन भएसँगै माओवादीसँग काँधमा काँध जुधाएर हातेमालो गर्दै हिँडेको एकीकृत समाजवादी आजभोलि एक्लो महसुस गर्दै आएको छ । आफ्नो परमशत्रु एमालेसँग माओवादीले सत्ता गठबन्धन गरेसँगै एकीकृत मासजवादी प्रतिपक्षी बनेको छ । उसले आफू सत्तामा जानुभन्दा प्रतिपक्षीमै बस्नु बेश ठानेको छ । सत्ताको मोहमा शत्रुसँग सम्झौँता गर्नु हुँदैन भन्ने मनसायमा एकीकृत समाजवादी छ ।

शत्रुसँग निकटको मित्र माओवादीले सत्ता गठबन्धन गरेपछि अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डसँगको दूरी बढाउँदै गएका छन् । सत्ता गठबन्धन हुनुभन्दा पहिले एक अर्कालाई पछ्याईरहने प्रचण्ड र नेपाल आजभोलि टेलिफोन संवाद वा भेटवार्ता गर्दा मन अमिलो बनाउँदै कुराको चुरो अघि बढाउँछन् ।

प्रचण्ड प्रधानमन्त्री नियुक्त भएयता अध्यक्ष नेपाल माओवादीका अधिकांश शीर्ष नेतासँग संवाद गर्न रुचाउँदैनन् । प्रचण्डको पार्टी एकताको प्रस्ताव लिएर भेट्न पुगेका माओवादी नेताहरूसँग नेपाल भेट्नै इच्छुक नदेखिएको स्रोत बताउँछ । प्रचण्डले धोका दिएको भन्दै उनी रुष्ट छन् ।

यद्यपि पार्टी एकताको कोर्ष भने केही महिनायता अगाडि बढ्न सकेको छैन । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन अगावै माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकता हुने प्रस्ताव अघि बढाइए पनि हालसम्म चालिस प्रतिशत प्रक्रिया पनि पूरा नभएको माओवादीका एक स्थायी कमिटी सदस्य बताउँछन् ।

उनका अनुसार, ‘पार्टी एकता प्रस्ताव निर्वाचन अगावै अगाडि सारिए पनि हालसम्म अघि बढ्न सकेको छैन । निर्वाचन यता एकता प्रक्रिया झनै ओझेलमा परेको छ । दुवै पार्टीका शीर्ष नेताबीच संवाद नै टुटेको छ । एमालेसँग सत्ता गठबन्धनले एकता झन् धरापमा परेको छ ।’

माओवादी र एकीकृत समाजवादीबीचको एकता प्रयास बाहिरी हल्ला जस्तो नभएको प्रचण्ड निकट स्रोत बताउँछ । नेपाल निकट स्रोतले भने पार्टी एकता प्रयास प्रयासमै सीमित रहेको तर्क गर्छ । बरू माओवादीसँग एकताको प्रक्रियालाई थन्काएर तत्काल जसपासँग एकताको तयारी गरिहेको छ ।

उक्त स्रोतका अनुसार, ‘माओवादीका शीर्ष नेताहरू एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बारम्बार भेटवार्ता गर्न आए पनि खासै चासो दिइएको छैन । किनकि यतिबेला जसपासँगको एकता कोर्ष लगभग अन्तिम रचणमा पुगेको छ । पहिले यो कोर्षलाई फाइनल गरे पश्चात् मात्रै माओवादीसँग एकता कोर्ष पूरा गर्ने या नगर्ने छलफल हुन्छ ।’

एकीकृत समाजवादीकी सचिव एवं नेत्री रामकुमारी झाँक्रीले वाम एकता हुनु आफैमा सवल पक्ष भएको तर्क गर्छिन् । तथापि एमाले बाहेकका वाम घटक दलहरूसँग एकताका लागि वार्ता र संवाद अगाडि बढिरहेको बताउँछन् । माओवादीसँग भने पछिल्लो तरणमा खासै संवाद नभएको उनी स्वीकार्छिन् । तर, अध्यक्ष ओलीले संसद् विघटन गरेकोमा आत्मालोचना गरे एमालेसँग पनि एकता सम्भव हुने उनको अर्को तर्क छ ।

माओवादी र एकीकृत समाजवादीको एकता प्रक्रिया भने तत्काल अगाडि बढ्नेमा शंकै छ । जसपासँगको एकता कोर्ष अन्तिम चरणमा पुगेको र माओवादीले एमाले लगायत अन्य दलको बैसाखी टेकेर सत्ता रोहण गरेकोले एकता हुन्छ या हुँदैन भन्न सकिने अवस्था छैन ।

एकीकृत समाजवादीले घनिष्ठ ठान्दै आएको माओवादीले परमशत्रुसँग सत्ता गठबन्धन गरेपछि अध्यक्ष नेपाल अझैँ प्रधानमन्त्री प्रचण्डसँग खुल्न सकेका छैनन् । त्यतिमात्रै होइन, उनी पछिल्लो समय प्रचण्डप्रति अविश्वस्त छन् ।

अध्यक्ष नेपाल माओवादीसँग रुष्ट भए पनि पार्टी एकताको प्रक्रियामा लचक देखिन्छन् । तर, केही नेता अनुदार देखिएका छन् । जसपासँग एकता गर्न जति लचक देखिएका छन्, त्यति माओवादीप्रति देखिँदैनन् ।

राजनीतिक वृत्तमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच ढिलो होला तर, पार्टी एकता हुने चर्चा हुँदै आएको छ । तथापि पछिल्लो विकसित राजनीतिक घटनाक्रमलाई नियाल्ने हो भने यी दुई दलबीच एकता होला या नहोला यसै भन्नसक्ने अवस्था रहेको छैन ।