• बैशाख २८ २०८३, सोमबार

सत्ता गठबन्धनमा दरार उत्पन्न : एमाले र रास्वपाको दबाबमा प्रधानमन्त्री प्रचण्ड

माघ १९ २०७९, बिहीबार

काठमाडौं । एमाले–माओवादी लगायत सात दलीय सत्ता गठबन्धनको डेढ महिना नपुग्दै दरार उत्पन्न भएको छ । खारेज भएको नागरिकता दुरुपयोग गरेका रवि लामिछानेको गृहमन्त्री पद गुमेसँगै सत्ता गठबन्धनमा दरार उत्पन्न भएको हो ।

रविको मन्त्री पद गुमेसँगै गृह मन्त्रालय रिक्त रहेको छ । उक्त मन्त्रालयको रिक्त पदमा पुनः उनै रविलाई नियुक्त गर्नुपर्ने भन्दै प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दबाब दिँदै आएको छ ।

आज (बिहीबार) एमाले अध्यक्ष केपी शर्मा ओलीले विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको अन्तक्र्रियामा रास्वपालाई नै गृह मन्त्रालय दिनुपर्ने बताए । सरकार गठनको बेला मन्त्री पद बाँडफाँडको क्रममा गृह मन्त्रालय रास्वपाकै भागमा परेकोले उसलाई नै सो मन्त्रालय दिनुपर्ने ओलीको तर्क छ ।

गृहमन्त्री रविलाई नै बनाउनुपर्ने अडान राख्दै आएका ओली विराटनगरमा पुगेर रविको पक्षमा खुलेर ओकालत गरे । पत्रकारसँग उनले भने, ‘मन्त्री कसलाई बनाउने भन्ने कुरा राष्ट्रिय स्वतन्त्र पार्टीको कुरा हो । हामीले गृह मन्त्रालय उसलाई दिएका हौँ । त्यो पार्टीले रवि लामिछानेलाई पहिले तोकेको हो । त्यसअनुसार बनाएका हौँ ।’ फेरि उनी थप्छन्, ‘रवि लामिछानेलाई नै दिनुपर्छ भन्छ भने त्यो उसको (रास्वपा)को कुरा हो । हामीले गृह मन्त्रालय उसलाई दिएका हौँ ।’

सर्वोच्च अदालतको पूर्णपाठ नआएसम्म गृहमन्त्रीमा रविलाई नियुक्ति नगर्ने अडान प्रधानमन्त्रीले किन लिएका छन् ? पत्रकारको प्रश्नको जवाफमा ओलीले प्रतिप्रश्न गर्दै भने, ‘पूर्णपाठ किन चाहियो ? कण्ठ गर्ने हो र पूर्णपाठ ?’

आजभोलि बारम्बार बालकोटदेखि बालुवाटारसम्म धाउने गरेका छन्, ओली । बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्तामा अध्यक्ष ओलीले सरकारको आगामी रणनीति र सत्ता सञ्चालनभन्दा गृहमन्त्रीमा केन्द्रित देखिएको स्रोत बताउँछ । उनी रास्वपा सभापति रविलाई नै गृहमन्त्रीमा फर्काउनुपर्नेमा बढी केन्द्रित देखिन्छन् ।

तथापि प्रधानमन्त्री प्रचण्ड रविलाई तत्काल गृहमा फर्काउन उत्सुक छैनन् । दुई दिनअघि उनीसँग रविले भेटवार्ता गरेका थिए । वार्ताको क्रममा प्रधानमन्त्रीले सर्वोच्चको पूर्णपाठ नआएसम्म गृहमा फर्काउन उप्ठ्यारो हुने भन्दै रविलाई बालुवाटारबाट फर्काएका थिए । तर, पूर्णपाठ आएपछि उनलाई नै गृहमा फर्काउने विषयमा भने प्रचण्डले प्रष्ट पारेनन् ।

त्यसयता रवि ओलीसँग नजिकिएका छन् । उनले ओलीसँगको निकटता बढाएर प्रधानमन्त्रीलाई गलाउने कोसिस गरिरहेको बताईएको छ । रविले प्रचण्डलाई गलाउन नसकेपछि ओलीमार्फत रवि गृहमा फर्किने दाउमा छन् भने उनी सर्वोच्चको पूर्णपाठको पर्खाइमा छन् ।

प्रधानमन्त्रीले तत्काल गृहमा रविलाई फर्काउन नमानेपछि रास्वपाले केहीबेर अघि पार्टी केन्द्रीय समिति र संसदीय दलसहितको संयुक्त बैठक आह्वान गरेको थियो । बैठकमा केन्द्रीय समितिका सदस्यहरू, सांसद र मन्त्रीसमेतको सहभागिता रहेको थियो ।

बैठकमा सरकारको विषयका साथै समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल र आवश्यक निर्णय भएको प्रवक्ता मुकुल ढकालले जानकारी दिए । सभापति रवि लामिछानेलाई गृह मन्त्रालयमा फर्काउन नचाहेपछि रास्वपा प्रधानमन्त्रीसँग असन्तुष्ट छ ।

रविलाई गृहमा फर्काउन चौतर्फी दबाब आएको प्रधानमन्त्री स्वयंले बताएका छन् । आज माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी समिति बैठकमा ब्रिफिङका क्रममा उनले यस्तो बताएका हुन् ।

‘रविजीको पार्टीबाट अहिले नै गृहमन्त्री बनाउनुपर्यो भनेर चौतर्फी दबाब छ, उनले नेताहरूलाई ब्रिफिङका क्रममा भने, आजै विराटनगर गएर केपी ओलीजीले पनि अलिकति बोल्नु भएछ, उहाँले बोलेको मैले सुनेरै यहाँ आएको छु,’ प्रचण्डले भने ।

यहीँ माघ महिनाको १३ गतेको सर्वोच्चको फैसलापछि नागरिकता अवैध ठहर गर्दै अदालतले गैरसांसदको हैसियतमा पुर्याइदिएका रविको राहदानी विवाद कायमै छ ।

प्रधानमन्त्रीले भने, ‘सत्ता समीकरण र गठबन्धनमा समस्या पैदा गर्न खोजेका छन् । तर, मलाई के लाग्छ भने अहिले नै सत्ता गठबन्धनमा संकट पर्दैन, केही समस्या नदेखिएको होइन । तर, अहिले नै यसकै कारण समीकरण हेरफेर हुने भन्ने सम्भावना छैन ।’