काठमाडौं । खारेज भईसकेको नेपाली नागरिकता दुरुप्रयोग गरेका रवि लामिछानेले सांसद र गृहमन्त्री पद गुमाएसँगै गृह मन्त्रालय रिक्त भएको छ ।
रिक्त रहेको उक्त मन्त्रालय पुनः आफूले पाउनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रविको दाबी छ । तथापि प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल गृह मन्त्रालय आफैले सम्हालेका छन् ।
आज (मंगलबार) बिहान प्रधानमन्त्री प्रचण्ड र सभापति रवि लामिछानेबीच भेटवार्ता भएको थियो । भेटको क्रममा सर्वोच्च अदालतको पूर्णपाठ नआएसम्म गृहमा रविलाई फर्काउन प्रधानमन्त्री इच्छुक देखिएनन् । उनी इच्छुक नदेखिएपछि रविले अब गर्ने भन्ने विषयको निक्र्यौल गर्न नसकेको स्रोत बताउँछ ।
रास्वपाले सरकारलाई समर्थन गर्दा गृह, स्वास्थ्य, शिक्षा लगायत अन्य केही मन्त्रालय पाउने सहमति भएको छ । उक्त सहमतिमा टेकेर रास्वपाले पुनः गृह मन्त्रालय पाउनुपर्ने अडान राखेको छ । तर, रविको नागरिकता विवाद सुल्झिए पनि राहदानी सम्बन्धी मुद्दा कायमै रहेको छ भने सर्वोच्चको पूर्णपाठ आएको छैन । यसर्थ उनलाई गृहमा फर्काउन प्रधानमन्त्री इच्छुक छैनन् ।
गृह मन्त्रालय माओवादी केन्द्रले नै पाउनुपर्ने प्रचण्डलाई दबाब छ । पार्टीका शीर्ष नेताहरूले सो मन्त्रालय रास्वपालाई नदिन आग्रह गरेको एक नेताले बताए । रास्वपा सभापति रवि आफ्नै कारणले गृह मन्त्रालय गुमाएकोले अब उप्रान्त उनलाई गृहमा फर्काउन नहुने ती नेताको तर्क छ ।
त्यस्तै माओवादी केन्द्रका सचिव लिलामणि पोखरेलले गोल खबरसँगको संक्षिप्त संवादमा भने, ‘यतिबेला माओवादी केन्द्रले सरकारको नेतृत्व गरेको छ । जसले सरकारको नेतृत्व गरेको छ, सोको आन्तरिक प्रशासन सम्बन्धी हेरफेर गर्ने गृह भएकोले हाम्रो पार्टीले नै यो मन्त्रालय पाउनुपर्छ ।’ अन्य मन्त्रालयको दाँजोमा गृह मन्त्रालय अत्यन्तै संवेदनशिल मन्त्रालय भएकोले माओवादी केन्द्रले नै यो मन्त्रालयको जिम्मेवारी सम्हाल्छ । यस विषयमा पार्टीभित्र थप छलफल हुने नै छ ।’
उता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने गृह मन्त्रालय नछोड्ने पक्षमा छ । उसले उक्त मन्त्रालयको रिक्त पदमा फेरी सभापति रविलाई नै नियुक्त गर्न प्रधानमन्त्रीलाई दबाब दिँदै आएको छ । यद्यपि उनको मुद्दाको छिनोफानो सर्वोच्चबाट अझैँ नटुंगिएकोले प्रचण्डले गृह मन्त्रालय दिन मानेका छैनन् । यस विषयलाई लिएर सत्ता गठबन्धनमा रहने या नरहने रास्वपाले निर्णय गरिसकेको छैन ।