• फाल्गुन २७ २०८२, बुधबार

पाकिस्तानको मस्जिदमा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या ९२ पुग्यो

माघ १७ २०७९, मंगलवार

काठमाडौं। पाकिस्तानको पेशावर सहरको एक मस्जिदमा बम विस्फोटमा परेर ज्यान गुमाउनेको सङ्ख्या ९२ पुगेको छ । मस्जिद विस्फोटको भग्नावशेषबाट मङ्गलवार अझै शवहरू निकाल्ने क्रम चलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्मयले जनाएका छन् ।

अहिले पेशावर लेडी रिडिङ अस्पतालमा ५७ जना घाइतेको उपचार चलिरहेको छ । एक सय ५७ जना घाइतेलाई अस्पताल ल्याइएकोमा धेरैजसोलाई उपचारपछि घर पठाइएको छ ।

प्रान्तीय राजधानी पेशावरमा सोमवार दिउँसोको प्रार्थनाको समयमा आक्रमण भएको थियो । अफगान सीमासँग जोडिएका क्षेत्रहरूमा आक्रमणहरू लगातार बढिरहेको छ ।

मङ्गलवार अस्पतालबाट एएफपीलाई २३ वर्षीय प्रहरी हवल्दार वजाहत अलीले भने, ‘म सात घण्टासम्म मृत शरीरसहितको भग्नावशेषमुनि फसेको थिएँ , मैले बाँच्नका लागि सबै आशा गुमाएँको थिए ।’

सहरका प्रहरी प्रमुख मुहम्मद इजाज खानले ज्यान गुमाउनेमा धेरैजसो प्रहरी रहेका र जसमध्ये चार सय जना मस्जिदको कम्पाउन्डमा प्रार्थनाका लागि भेला भएका बताएका छन् ।

पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टो जर्दारीले आक्रमणको निन्दा गर्दै आतङ्कवाद र यसका सहयोगीहरूलाई कडाइका साथ कारबाही गरिने बताएका छन् ।