• बैशाख २८ २०८३, सोमबार

सर्वोच्चबाट फैसला नभएसम्म  गृह मन्त्री नियुक्त नगरिने प्रधानमन्त्री प्रचण्डको भनाई

माघ १७ २०७९, मंगलवार

काठमाण्डौ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको फैसलाको पूर्ण पाठ नआएसम्म नयाँ गृह मन्त्री नियुक्त नगर्ने भएका छन्।

मङ्गलवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पार्टी सचिव गणेश साहले प्रधानमन्त्री प्रचण्डले लामिछानेको मुद्दाको पूर्ण पाठ नआउँदासम्म गृह मन्त्री नियुक्तिका बारेमा निर्णय नहुने बताएका जानकारी दिएका हुन् ।

उनले त्यस बेलासम्म गृह मन्त्रालय प्रधानमन्त्रीले आफूसँगै राख्ने बताए। रवि लामिछाने गैरसांसद भइसकेको अवस्थामा उनलाई मन्त्री बनाउँदा अन्य गैरसांसदले पनि मन्त्री बन्ने आकाङ्क्षा राख्ने भन्दै उनले प्रधानमन्त्रीले सर्वोच्च अदालतको पूर्ण पाठको प्रतिक्षा गर्ने बताए ।

सचिव साहले माओवादी केन्द्रले राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति खोजेको बताए । उनले संविधानको मर्म र भावनालाई पूरा गर्ने विश्वसनीय व्यक्तिलाई राष्ट्रपति बनाउन पार्टीले क्रियाशिलता अगाडि बढाएको बताए ।

पदाधिकारी बैठकमा नेताहरूले कार्य विभाजन गर्दै तीन महिने कार्यक्रम लिएर जानुपर्ने सुझाव दिएका सचिव साहले जानकारी दिए । माओवादी केन्द्रले बुधवार दिउँसो १ बजे स्थायी कमिटीको बैठक बोलाएको छ । स्थायी कमिटीको बैठकले पार्टी सङ्गठनको सम्बन्धमा निर्णय गर्नेछ ।