काठमाडौं । ललितपुर जिल्लाको ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित बी एण्ड बी अस्पताल नजिकै कार र ट्याक्सी आपसमा ठोकिँदा २ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा ६ जना घाइते भएका छन् ।
ट्याक्सीमा सवार ललितपुरको ताल्चीखेल बस्ने सुनसरीका ४७ वर्षीय सरोजकुमार विक र कारमा सवार काठमाडौंको कलंकी बस्दै आएका मोरङका अन्दाजी ३५ वर्षीय धनबहादुर बस्नेतको उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा ट्याक्सीमा सवार ६ जना र कारमा सवार २ गरी ८ जना घाईते भएका थिए । घाइतेमध्ये दुई जनाको उपचारको क्रममा बी एण्ड बी अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
ग्वार्कोबाट सातदोबाटोतर्फ आउँदै गरेको बा २ ज ३४२० नम्बरको ट्याक्सी र विपरीत दिशाबाट जाँदै गरेको बा ४ च १ नम्बरको कार गएराति करिब साढे १२ बजे ठोकिएको थियो ।