• बैशाख २८ २०८३, सोमबार

संघीयतामाथि प्रश्न गरेर द्वन्द्व निम्त्याउने काम नगरौं : महासचिव गौतम

माघ १४ २०७९, शनिबार

काठमाडौं । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याउन आग्रह गरेका छन् ।

शनिबार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पछिल्लो समय संघीयताको विषयलाई लिएर विभिन्न प्रश्न उठिरहेको भन्दै संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याउन सम्बन्धित पक्षहरूलाई आग्रह गरे ।

उनले हरेक १५ वर्षमा देशको संरचना परिवर्तन गरेर जान नसकिने स्पष्ट पारे । महासचिव गौतमले संघीयतामाथि प्रश्न उठाउँदै जाने हो भने सबै ठूलो संकटमा पर्ने बताए । संघीयतालाई जति ठूलो विषय बनाइन्छ त्यति नै फस्दै जाने सम्भावना रहेको बताए ।

‘संघीयता भएपछि सात प्रदेश छन्, सात हुँदा पनि चलाउन सकेनौ भनेका छौं, यसमा म अप्रेशनल कुरा देख्छु । अब संघीयतालाई फेरि अर्को क्वेशन गरेर यसलाई द्वन्द्व निम्त्याउनु छ र हामीले सकौंला ? हामी सधैं १०-१५ वर्षमा कन्स्टिट्युशन फेर्दै जाने ?,’ उनले प्रश्न गरे,‘ हामीले जाने बाटोमा अब फेरि संघीयतालाई ब्याक गरेर हामीले हेरौं न, त्यो संघीयताको विषयलाई जोडदार उठाउने पार्टी र समुदाय पनि उनीहरू के हुन्छन् ? हामी निकै नै ठूलो भड्खारोमा पर्न जाने सम्भावना बढी नै छ । संघीयतालाई झनै ठूलो विषय बनाए हामी झनै फस्छौं ।’

यस्तै फरक प्रसंगमा उनले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग निष्प्रभावीबारे लेखेको पत्र आफ्नो प्रशासनिक कुरा भएको र आफूले बारम्बार सोचेर लेखेको भन्दै सही र गलत भन्नेकुरा अदालतले फैसला गर्ने बताए ।