• फाल्गुन २७ २०८२, बुधबार

पेरुमा निर्धारित समयअघि नै चुनाव गर्ने राष्ट्रपतिको अनुरोध संसदद्वारा अस्वीकार

माघ १४ २०७९, शनिबार

काठमाडौं। पेरुमा निर्धारित समयभन्दा पहिले नै आम चुनाव गर्न राष्ट्रपतिले गरेको नुरोध संसदले अस्वीकार गरेको छ । आउँदोे डिसेम्बरमा आम चुनाव गर्न राष्ट्रपति डिना बोलुआर्टेले गरेकी अनुरोध पेरुको संसदले अस्वीकार गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

राष्ट्रपतिले चुनावका लागि गरेको प्रस्तावको पक्षमा ४५ र विपक्षमा ६५ मत परेको छ । गएको महिना सदनले सन् २०२६ मा हुनुपर्ने चुनावलाई आउँदो वर्ष अप्रिलमा गर्न सहमति जनाएको थियो ।

तर पूर्वराष्ट्रपति पेड्रो कास्टिलोलाई पक्राउ गरेपछि देशभर राष्ट्रपति बोलुआर्टेको राजीनामाको माग गर्दै हिंसात्मक विरोध प्रदर्शन भएका छन् ।

सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा ४७ जनाको ज्यान गइसकेको छ । विरोध प्रदर्शनका कारण धेरैजसो सडक बन्द भएका छन् । खाद्यान्न, इन्धन लगायत अरु आधारभूत वस्तुको अभाव भएको छ ।

पेरुको स्वतन्त्र मानवअधिकार कार्यालयले सडकमा भएको अवरोधका कारण उपचार नपाएर दुई जना शिशुसहित १० जना सर्वसाधारणको ज्यान गएको जनाएको छ ।