नयाँ अनुहार सहितको सरकार पाएको छ देशले । बीच बीचमा दाँतैमा ढुंगा पनि लागेका छन् । इलामको एक युवाले संसद भवन अगाडि नै आत्मदाह पनि गरे । सुकुम्बासी भन्दै बानेश्वरमा ठूलै भीड पनि हिजोआजै पनि देखिँदैछ । भनौँ पाइला पाइलामा देशमा संकट छ, र पनि नयाँ उत्साहको संकेत, जीवनमा रंगीन क्षणहरु र उमंगका साथ नयाँ वसन्तको आगमन भएको छ ।
सरस्वतीको स्मरण गर्ने दिन वसन्त पन्चमी, माघ शुक्लपक्ष भरखरै सकिएको छ र पनि सिर्जनाका पूmलहरु कहिल्यै ओइलिन्नन् । सरस्वतीको अथाह ज्ञानभण्डार जति वितरण गरे पनि कम हुन्छ । त्यसो त हरेक विहानी मानवको नयाँ युग हो । निकै धनी छौँ हामी पूर्वीय चिन्तनमा, यसपालि कोही मन्त्रीले त आराध्यदेव पशुपतिनाथसामु पुगेर दर्शन गरिवरि शपथ लिए । देवी भागवतले माता सरस्वतीका बारे खुलेर वन्दना गरेको छ । संसारको सृष्टि, पालना र संहारमा सबै शक्तिलाई संरक्षण दिने देवीका सामु संसार एउटा खेलौना समान हो ।
साहित्यका सबै विधाकी स्रोत महामाया सरस्वतीलाई हरपल वन्दना । देवीका सामु विशाल ब्रह्माण्ड एउटा साकार रुप हो भने हर प्राणीका ह्रदयमा रहेको चैतन्य शक्ति उनको निराकार रुप हो । सिर्जनामा उनको रुप महासरस्वती, पालनामा महालक्ष्मी र संहारमा उनको रुप महाकालीको हुन्छ । श्रीशिव लगायत सबै देवताहरु तिनको वन्दना गर्छन् र आप्mनो कार्यकारी शक्तिको उपयोग र सदुपयोग गर्छन् ।
प्रथमतः माता सरस्वती वाणीकी देवी हुन् । ज्ञान र विज्ञान उनको स्वरुप हो । माघशुक्ल पञ्चमी ज्ञानकी देवी श्रीसरस्वतीको स्मरण गर्ने दिन हो । सूक्ष्म ब्रह्माण्डको मष्तिस्क सत्ता लिएर धर्तीमा अवतरित मानव उसैले विज्ञानको सदुपयोग गरी विशाल ब्रह्माण्डमा अधिपति जमाउन प्रयासरत देखिन्छ अहिले । चन्द्र धरातलदेखि मङ्गल ग्रहसम्मको पहुँच र समस्त भूखण्ड र खगोलीय पिण्डहरुलाई आफ्नो रिमोर्ट कन्ट्रोलमा राख्न चाहने मानव मष्तिस्क भन्नु परमेश्वरी देवीको वरद कृपा दृष्टि हो ।
ॐ नमो वागीश्वरायबाट आरम्भ भएको शब्दांकुरले नाद ब्रह्मलाई भेदन गरी स्वर, संगीत, कला पारखीसम्म र शिक्षण, प्रशिक्षण, अनुशिक्षणदेखि प्रयोगशालाको भौतिक र रासायनिक परीक्षणसम्म साथ दिने ब्रह्मायणी देवीको अनुपम कृपा दृष्टिले आजको संसार ढुंगेयुगबाट नवीनतम ऊर्जाशील युगसम्म पदार्पण गर्दैछ । कोरोना जस्तो मनाव भूमरीलाई डटेर मुकाविला गरेको मष्तिस्ककै कारण आज संसारले खोपको विकास गरी कोरोनासँग जुध्दै छ । ज्ञान, विवेक, संयम, धैर्य, श्री, पराक्रमको सही उपयोगदेखि मानव रक्षासम्म र धर्ती अम्बर सबैतिर रहेका सूक्ष्मातीसूक्ष्म जीवाणु, कीटाणुसम्मको रेखदेख र भाइचाराको सन्देश, मानव संस्कृतिको अनुपम उदाहरण हो ।
आद्याशक्ति सरस्वतीको जन्म दिन वसन्तपञ्चमी ! अर्थात् श्रीपञ्चमी , रति र काम देवको स्मरण गर्ने दिन । वसन्तको आगमन, नयाँ विहानीको स्वागत गर्ने बेला । सम्पूर्ण वेद, वेदांगहरु सरस्वतीको प्रार्थना गर्न जर्मुराउँछन् र त बालबालिका मात्रै होइन असंख्य मानव सरस्वतीको दर्शन गर्न लालयित हुन्छ, के घरमा, के मठ, मन्दिरमा । सरस्वतीको स्मरण गर्दै पिरुकामाथि माटो राखेर सिन्काले कखरा सिक्ने हामी आधुनिक कम्प्यूटर युगमा पुगेका छौँ । क्षणभरिका कुरा हाते मोबाइलमा देख्न सक्ने भएका छौँ, प्रविधिमा संसार धेरै अगाडि बढेको छ, सरस्वतीकै कृपा दृष्टि भन्नुपर्छ यसलाई ।
महान् स्रष्टा, ग्रन्थकार, कवि, वकिल, साहित्यकार, कलाकर्मी, सञ्चारकर्मी, डाक्टर, बुद्धिजीवी, शिक्षक, नेता, अभिनेतादेखि वैज्ञानिकहरुसम्मको साधना सरस्वतीका कृपा दृष्टि हुन् । कलम–विचारको प्रवाहदेखि धर्म, संस्कृतिको जगेर्नासम्मको, सिप संस्कारदेखि जीउने कला, वत्तृmत्व, प्राविधिक ज्ञानदेखि सम्पूर्ण मानव जीवनलाई सरल, सरस, सारगर्भित बनाउन प्रेरित गर्ने देवी अथाह ज्ञानस्रोतकी सागर नै हुन् र आज मानिस ऊर्जामा उत्कृष्ट हुन खोज्दैछ ।
मष्तिस्कको ऊर्जा मात्रै नभएर जल ऊर्जा, वायु ऊर्जा, सौर्य ऊर्जा । धन्य हिजोको मान्छे आज कता हो कता स्वर्णीम युगमा पुगेको छ । जति खर्च गर्यो त्यति बृद्धि हुने सीप, संगीत पारखीहरुका लागि साधनाकी स्रोत पनि उनै हुन् । कमलासनी, सेतोबस्त्र धारण गरेकी, वीणा हातमा लिएकी, ब्रह्मादि देवताहरुबाट विशेष वन्दना गरिएकी, अभय मुद्रा भएकी वरदान र श्राप दुवै दिने सक्ने देवी मानव जीवनकी शक्ति सञ्चारिका नै हुन् । विश्व रचनादेखि पालनाकार्य र संहारकारी गुण सम्पन्न देवीलाई वैष्णवी एवं रुद्रायणीका रुपमा पनि चिनिन्छ । विश्व जननी भूवनेश्वरीदेवीको सत्ता, शक्ति पाएर सृष्टिकर्ता परमेश्वर सर्वगुण सम्पन्न बनेको हो ।
कम्प्युटर भित्रका आकृतिदेखि नृत्यकलासम्म र गायन स्वरदेखि आधुनिक साजसज्जा सहितको स्वर ध्वनियन्त्र सम्मकी देवी सरस्वती विज्ञानकी संरक्षिका पनि हुन् । मानव जीवनलाई ऐश, आराम दिलाउने देवी, भोग, सुखका अतिरिक्त विज्ञानको सदुपयोगसम्म गर्न प्रेरित गर्छिन् । शस्त्रास्त्रको होडबाजी, आपसी द्धन्दको पराकाष्टा, अशान्ति, भय, क्रोध, हिंसा, तनावको बलबम बारुदका धूवाँहरु केवल सरस्वतीको विस्मरण हो ।
आदिम ढुंगेयुगबाट गुज्रेको मानव विश्वलाई एउटा हत्केलामा राख्न सफल छ तर उनको विस्मरणले घटनाहरु, दुर्घटनाहरु, आक्रमण, बन्द हडताल, तोडफोड, चक्काजाम, आगजनी, ध्वस्त, विकीरणयुक्त, प्रदुषणयुक्त भैरहेछ । प्रत्येक सिक्काका दुईपाटाहरु हुन्छन् । दुवैपाटाहरुलाई सकारात्मक बनाउन सरस्वतीको कृपादृष्टि सद्भाव, प्रेम, स्नेह, सहिष्णुता, भाइचारा, एकता, समन्वय आवश्यक छ । बगैचामा थरिथरीका पूmलहरु हुन्छन् । रंगीविरंगी पूmलहरुले सजिएको बगैचा निश्चय नै सुन्दर हुन्छ । आज मानिस बिर्संदैछ, उनको शक्तिलाई र त ऊ हत्या, हिंसा, बलात्कार, चोरी, उपद्रव, लुटपाट जस्ता गैरसामाजिक कार्यमा व्यस्त छ ।
राजनीतिले समाजको स्वरुपलाई सद्भावयुक्त बनाउनु पर्नेमा ठीक उल्टो किचलो, कोकोहोलो, रमिते, छटपटाहट बनाइरहेको छ । विचारको गलत प्रयोगले समाज घुमिल हुनुहुन्न, समाजलाई थला पर्न दिनुहुन्न । ज्याद्रो छक्का पञ्जाशैलीमा उठेको कालो बादल नराम्रोसँग मडारिएको छ, संसारमै । देश देशावरमा नयाँनयाँ बादशाहहरु पनि देखापरेका छन् । कोही हात बाँधेर मानवको विभत्स हत्या गर्नमा आप्mनो सोख सम्झन्छन् । कोही रुपको आकर्षणमा परि बलात्कार गर्दै निमोठेर कुखुरा मारेझैं सिद्रा पार्छन् । हेर्ने समाज, मानव अधिकार आयोग निरीह बन्छ ।
कोही दिउँसै बत्ती बाल्न बाध्य गराउँछन् । मैले जे गरेँ, त्यो सबैभन्दा उत्कृष्ट हो भन्छन् । सर्वसाधारणले बाटो हिँड्न पाउँदैन, काम, सिप देखाएर खान पाउँदैन, यो बर्बरता हो, शक्ति उन्माद हो । महँगीको मार, करको भय, भोक र शोक अनेकानेक दशाहरु छन् जीवनमा । कुनै पनि ज्ञानको दुरुपयोग गर्नु हुन्न, संस्कृतिलाई अक्षुण्ण राख्नु पर्छ ।
कोरोनाकाकालमा मानव संस्कार कता कता हरायो । समाज चाटुककारको हातमा जानु हुन्न, सबैमा, नैतिकता, इमान्दारिता, सच्चरित्रता र निष्ठाको अभाव हुनुहुन्न ।
कंशको पराक्रम, मन्थराको जिभ्रो, दुराचार, रावणको अत्याचार अन्ततः खेर गयो । सरस्वतीको कृपा दुरुपयोग हुन जाँदा यस्तो भएको हो, सदुपयोग भए, निर्माण र विकास पनि हुन्छ । ज्ञान सधै हाँस्दछ, मुस्कान छर्छ, सदाचार र सहयोग, सत्कृति दिन प्रयास गर्दछ । ज्ञानको साथमा विज्ञानलाई डोर्याउन सके विज्ञान पनि यस्तै हुनसक्छ । सम्पूर्ण मानव जगत् भयरहित, क्रोध रहित, आवेगरहित, तनावरहित हुनसके विज्ञान कलात्मक बन्न पुग्छ ।
शुद्ध आचरण, नैतिकवान्, चरित्रवान व्यक्तिहरुबाट सामाजिक पुनरुत्थान, नव निर्माण हुनसक्छ, सिर्जनाकी देवीले वसन्त ल्याउन प्रेरित गर्छिन् हर मानव जीवनमा । मान्छेमा मुखमा रामराम बगलीमा छुरा हुनुहुन्न । हर मानव चित्कारविहीन जीउन सक्नु पर्छ, त्यसका लागि एकअर्कामा सद्भाव जरुरी छ, मानव संस्कृति त्यहीँ जीउँदो हुन्छ ।
वसन्तपञ्चमीको प्रेरणा, मानव जीवनमा वसन्तको आगमन, नवीन ऊर्जाशैली, नयाँ किरण, नयाँ विहानी, नव पालुवाहरु, नवीनतम प्रयोग नै हो । नवजीवन, कोमल जीवन, स्वस्थ जीवन, सरल जीवन, सौन्दर्ययुक्त जीवन, भयरहित जीवन अनि सौन्दर्ययुक्त समाज निर्माणको पहल गरौँ सबैले । राज्यका हरेक अंगलाई सरिक गराएर, नेपालीहरु स्वदेश विदेश जहाँ रहे बसे पनि सुखी र समृद्ध रहने प्रण गरौँ, सबै जुटौँ देश निर्माणमा, हातेमालो गरौँ सबैले पुराना गल्तीहरुलाई बिर्सेर, अनि फेरि पनि बिर्सेर !