काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले राजाको स्थानमा ठुला दलका नेताहरू बसेर जनताको शोषण गरिरहेको आरोप लगाएका छन् । विगतमा राजा हटाउन कांग्रेस र कम्युनिस्ट नेताहरू एक ठाउँमा आए पनि अहिले तिनै नेताहरू नै शासक बनेको उनको जिकिर थियो ।
गृह जिल्ला रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्षमिनियास्थित विद्यालय भवनको शिलान्यास तथा स्वास्थ्य कार्यालय भवनको उद्घाटन पछि आयोजित सभालाई सम्बोधन गर्दै नेता साहले अहिले राजाको कुर्सीमा ठुला दलका नेताहरू विराजमान भएकाले नेपाली जनता उपेक्षित भएको बताए ।
अध्यक्ष साहले ठुला पार्टीले कार्यकर्ता पाल्न देशको ढुकुटी रित्याएको आरोप पनि लगाए । जुनै सरकार फेरिए पनि यो हाम्रो सरकार हो भनेर जनतालाई अनुभूति गर्न सकेका छैनन्, जनता मालिक नभएसम्म परिवर्तनको कुनै औचित्य हुँदैन, उनले भने । देशमा सङ्घीय गणतन्त्र नामको लागि मात्र रहेको भन्दै उनले मुठीभर नेताहरूले देश लुटिरहेको आरोप लगाए ।