• बैशाख २८ २०८३, सोमबार

गणतन्त्र र संघीयताविरुद्ध बोल्ने मन्त्रीलाई बर्खास्त गर्न प्रम दाहाललाई दबाब

माघ १३ २०७९, शुक्रबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरुले संघीयता र गणतन्त्रविरुद्ध बोल्ने मन्त्रीहरुलाई बर्खास्त गर्न माग गरेका छन् । शुक्रबार बसेको पार्टी स्थायी कमिटी बैठकमा नेताहरुले संघीयताविरुद्ध बोल्ने मन्त्रीहरुलाई बर्खास्त गर्न अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरेका हुन् ।

मन्त्रीहरु अहिलेको व्यवस्था बचाउनतर्फ लाग्नुपर्नेमा उल्दै व्यवस्थाविरुद्ध उभिनु गम्भीर रहेको भन्दै बैठकमा नेताहरुले आवाज उठाएको नेता मातृका यादवले जानकारी दिए । उनका अनुसार बैठकमा आधा दर्जन हाराहारीका नेताहरुले केही मन्त्रीहरुको अभिव्यक्ति आपत्तिजनक रहेकाले तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीलाई दवाव दिएका थिए ।

राप्रपाका अध्यक्ष समेत रहेका ऊर्जामन्त्री राजेन्द्र लिङ्देन र कानुनमन्त्री ध्रुवबहादुर प्रधानले संघीयताविरुद्ध अभिव्यक्ति दिएको सार्वजनिक भइसकेको छ । उनीहरुमाथि स्पष्टीकरण सोध्ने प्रधानमन्त्री प्रचण्डले बताएपनि कार्यान्वयन भने गरेका छैनन् ।

मंगलबारको राष्ट्रियसभा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले अहिलेको सरकारमा बसेर संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीताका विषयमा विरोध गर्ने छुट कसैमा नभएको बताएका थिए । सरकारमै सहभागी मन्त्रीले एकपछि अर्को गरी व्यवस्थाविरुद्ध लाग्दा प्रधानमन्त्री चुप बस्न नहुने भन्दै माओवादीको बैठकमा नेताहरुले कारबाही गर्न दवाव दिएका थिए ।