• जेष्ठ ८ २०८३, शुक्रबार

एक सय थान राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र सहित बोगटी र गुरुङ पक्राउ

माघ १३ २०७९, शुक्रबार

काठमाडौं । नेपाल प्रहरीले अवैधरूपमा बाह्य मुलुकतर्फ लैजान लागेको एक सय एक थान राहदानी र ७९ थान प्रहरी चारित्रिक प्रमाणपत्र बरामद गरी अनुसन्धान थालेको छ । उक्त राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र लैजान लागेको आरोपमा विमानस्थल सुरक्षा कार्यालयले दुई जनालाई पक्राउसमेत गरेको छ ।

उक्त राहदानी लिएर जान लागेका बेला पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-३ का ३८ वर्षीय अमित बोगटी र नवलपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका-७ की ३८ वर्षीया सोनीकुमारी गुरूङ रहेकी छिन् ।

पक्राउपछि उनीहरूलाई थप अनुसन्धानका लागि गएराति केन्द्रीय अनुसन्धान ब्यूरोमा ल्याएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।

उनीहरूमाथि वैदेशिक रोजगार सम्बन्धी थप अनुसन्धान आवश्यक पर्ने भएकाले आजै वैदेशिक रोजगार विभागमा पठाइएको पनि थापाले बताए ।

नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेका उनीहरूको लगेज जाँचका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको

अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान विन्दुस्थित एक्स-रे गर्ने क्रममा लगेजमा शङ्कास्पद वस्तु देखिएको थियो ।
जाँच गर्दा भारत लान लागिएको अवस्थामा झोलामा उक्त राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र फेला परेको थियो । उनीहरूमाथिको सोधपुछका क्रममा उक्त राहदानी रोमानियामा भिसा स्ट्याम्पिङ गर्नका लागि लान लागेको भनी वैदेशिक रोजगार विभागबाट जारी भएको भिसा स्ट्याम्पिङ निणर्य फाराम पेश गरेका थिए ।

सो सम्बन्धमा अनुसन्धान गर्दा उक्त फाराममा उल्लिखित विवरण भएको राहदानीहरू र उनीहरूका साथबाट बरामद भएको राहदानीहरूको विवरण फरक पर्न आएको पाइएको प्रहरीले जानकारी दिएको छ ।