काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओलीले सहमति पालना नगरेको भन्दै असन्तुष्टि जनाएका छन् । बिहीबारबाट सुरु भएको स्थायी कमिटी बैठकमा ब्रिफिङ गर्दै ओलीप्रति असन्तुष्टि जनाएका हुन् ।
माओवादी केन्द्रका एक पदाधिकारीले दिएको जानकारी अनुसार संसद विघटनको विषय संसद प्रवेश गराएर ओलीले सहमति पालना नगरेको धारणा राखेका थिए ।
प्रधानमन्त्री दाहालले माओवादीले एमालेको तुलनामा मन्त्रालय पनि राम्रा नपाएको र मर्यादाक्रममा पनि अप्ठेरो पारिएको टिप्पणी गरेका थिए ।
‘संसद् विघटनको विषय संसदमै उठाउँदा निर्वाचित प्रधानमन्त्रीको लागि अलि असहज भएको छ,’ दाहालको भनाई उदृत गर्दै ती पदाधिकारीले भने,‘विगतका कुरा सार्वजनिकरुपमा नउठाउने सहमति भएको थियो त्यो पालना भएन । हामीले त्यो विषय नबोल्ने भनेका थियौँ । संसद विघटनको विषयमा त्यत्रो आन्दोलन गर्यौँ, अहिले त्यही ठिक थियो भन्न सकिँदैन ।’
उनले एमाले र माओवादीबीच प्रधानमन्त्रीले शपथ लिएका दिनमा एक-एक जना मन्त्री पठाउने भनिएको भए पनि एमालेले चारजना पठाएको भन्दै अर्को असन्तुष्टि जनाएका थिए । ‘पहिलो दिनमा नै दुईवटै पार्टीबाट एक एक जना पठाउने कुरा भएको थियो तर एमालेले चारजना पठायो,’ दाहालको भनाई थियो,‘मन्त्रीको पोर्टफोलियो पनि जसरी हुनुपर्ने हो त्यो भएन । सहमति र विश्वासको कुरा हुन सकेको छैन ।’
प्रधानमन्त्रीसमेत रहेका दाहालले सभामुख र राष्ट्रपति अहिले एउटै पार्टीको बनाउने र भोलि प्रधानमन्त्री हुँदाको अवस्था अहिले नै मूल्यांकन गर्नुपर्ने बताएका थिए ।
यस विषयमा गम्भीर समीक्षा गरेर निणर्य गर्नुपर्ने उनको भनाई थियो । ‘सभामुख र राष्ट्रपति अनि भोलि प्रधानमन्त्री पनि एउटै पार्टीको हुने अवस्थामा गम्भीरताका साथ अहिले नै सोच्न जरुरी छ,’ दाहालको भनाई थियो,‘कांग्रेससहितले विश्वासको मत दिएका छन् । हामीले राष्ट्रिय सहमति जुटाउनुपर्ने अवस्था आउन सक्छ तर अहिले नै कांग्रेस वा एमालेको राष्ट्रपति भन्ने अवस्था चाहिँ छैन ।’
एमाले अध्यक्ष ओलीको कारण शंकाको वातावरण निर्माण भएको उनको टिप्पणी थियो । संसद विघटनको विषय निर्वाचित प्रधानमन्त्रीको अगाडि सहज विषय नभएको पटक पटक दाहालले टिप्पणी गरेका थिए ।