• बैशाख २८ २०८३, सोमबार

विकल्प बिना सुकुम्बासी हटाउनु गलत हुने सुरक्षा प्रमुखहरुको सुझाव

माघ १२ २०७९, बिहीबार

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सुकुम्बासी बस्ती हटाउने विषयमा सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् । गृह मन्त्रालयमा बिहीबार प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापासँग छलफल गरेका हुन् ।

छलफलमा काठमाडौं महानगरपालिकाका मेयर बोलन्द्र शाह (बालेन) र एकिकृत बागमती सभ्यता विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सेना पनि सहभागी थिए ।

सुरक्षा प्रमुखहरुले सरोकारवाला निकायहरुको व्यवस्थापनको विकल्प दिएपछि मात्र थापाथलीको सुकुम्बासी बस्ती हटाउन सुझाव दिएका छन् । प्रहरी प्रमुखहरुले अहिलेकै अवस्थामा बस्ती हटाउँदा ‘मास क्याजल्टी’ हुने ब्रिफिङ गरेका छन् ।

मानवीय क्षति धेरै हुने प्रहरी प्रमुखहरुको ब्रिफिङपछि गृहमन्त्रीले यसबारे पुनः छलफल गर्ने बताएको बैठकमा सहभागी एकजना अधिकृतले बताए । काठमाडौं महानगरपालिकाका मेयर साहले मंसिर १२ मा थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन जाँदा भएको झडपबारे बताएका थिए ।

साहले  बस्ती खाली गरेपछि व्यवस्थापनको विकल्प आउने बताएका छन् । बालेन्द्रको भनाई उदृत गर्दै गृह मन्त्रालयका एकजना अधिकृतले भने- ‘पहिला बस्ती खाली गरौं, सुकुम्बासीलाई उनीहरुका लागि बनेको घरमा राख्छु ।’

साहले गेष्टहाउसमा राखेर भएपनि सुकुम्बासीको व्यवस्थापन गर्न सकिने योजना सुनाएका थिए । एकीकृत बागमती सभ्यता विकास समितिका अध्यक्ष उद्धव प्रसाद तिमल्सेनाले बस्ती खाली गरेर करिडोरमा बगैचा बनाउने योजना सुनाएका थिए ।