• जेष्ठ ८ २०८३, शुक्रबार

२ करोड अकुत सम्पति आर्जन गरेको अभियोग लागेको नासुले सफाई पाए

माघ १२ २०७९, बिहीबार

काठमाडौं । विशेष अदालतले झण्डै २ करोड रुपैयाँ अकुत सम्पति आर्जनको अभियोग लागेका भन्सार विभागका नायब सुब्बाले सफाइ पाउने फैसला गरेको छ ।

विशेष अदालतका न्यायाधीशहरु रमेशकुमार पोखरेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले नासु देवीबहादुर थापासहित बाबु कृष्णबहादुर, आमा चन्द्रमाया र श्रीमती विमसा राउतलाई सफाई दिएको हो ।

अकुत सम्पति कमाएर देवीबहादुरले आफ्ना बाबु कृष्णबहादुर, आमा चन्द्रमाया र श्रीमती विमसा राउतको नाममा राखेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाख १२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

५ साउन २०५६ मा विचारी पदबाट सेवा प्रवेश गरेका थापाले जाँच अवधि (आर्थिक वर्ष २०७५/७६) सम्म १ करोड ८७ लाख ४७ हजार १४९ रुपैयाँ अकुत सम्पति कमाएको देखिएको अख्तियारको दाबी थियो।

नासु थापाको अस्वभाविक उच्च जीवनस्तर देखिएको, हैसियतभन्दा बढी रकमको कोराबार देखिएको भन्दै अख्तियारले छानबिन गरेको थियो। आफू, बाबु, आमा र श्रीमतीको नाममा रकम राखेको तथा विभिन्न फर्ममा लगानी गरेको पाइएको अख्तियारले जनाएको थियो।

नासु थापाका विभिन्न ठाउँमा लगानी गराएको रकम तथा सेयरहरुको विवरणअनुसार उनले ३ करोड ८९ लाख ४५ हजार ५८८ रुपैयाँ खर्च गरेको अनुसन्धनबाट खुलेको थियो। उक्त समयमा नासु थापाको वैध आम्दानी २ करोड १ लाख ९८ हजार ३३९ रुपैयाँ देखिएकाले उनले १ करोड ८७ लाख ४७ हजार १४९ रुपैयाँ अकुत कमाएको ठहर गर्दै अख्तियारले मुद्दा दर्ता गरेको थियो। उक्त रकम बराबरको बिगो र कैद सजाय माग गर्दै दायर भएको मुद्दामा उनीहरुले सफाइ पाएका हुन्।