काठमाडौं । अमेरिकाका पूर्वउपराष्ट्रपति माइक पेन्सको निवासमा गोप्य सरकारी दस्तावेज फेला पारिएको छ । अमेरिकी सरकारमा सेवा गरेका उच्चपदस्थ अधिकारीहरुका घरमा गोप्य कागजात भेटिएको यो पछिल्लो घटना हो ।
गत साता एकजना वकिलले इण्डियानास्थित पेन्सको निवासमा भेटाएका ती कागजात अमेरिकाको संघीय जाँचबुझ ब्युरो (एफबीआई)लाई हस्तान्तरण गरिएको छ । अनुसन्धानकर्ताहरुले यसअघि पटकपटक राष्ट्रपति जो बाइडेनका निवास र कार्यालयमा भेटिएका यस्तै गोप्य कागजातमाथि पनि छानबिन गरिरहेका छन् । यसैगरी अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पनि गोप्य सरकारी फाइलहरु दुरुपयोग गरेको आरोपमा आपराधिक अनुसन्धान जारी रहेको छ ।
पेन्सका प्रतिनिधिहरुले ती दस्तावेज भेटिएको सम्बन्धमा अमेरिकी राष्ट्रिय अभिलेखालयलाई एक पत्रमार्फत जानकारी गराएका बीबीसीले लेखेको छ । अर्को छुट्टै पत्रमार्फत् वकिलहरुले पूर्वउपराष्ट्रपति पेन्सको निवासमा आइपुगेको एफबीआईले आधिकारिक प्रक्रियालाई बेवास्ता गर्दै ती दस्तावेज आफ्नो नियन्त्रणमा लिएको जानकारी दिएका छन् ।
अमेरिकाको राष्ट्रपतीय अभिलेख कानुन अनुसार ह्वाइट हाउसका अभिलेखहरु राष्ट्रिय अभिलेखालयमा दाखिला गरिनु पर्दथ्यो । अमेरिकी सञ्चार माध्यमका अनुसार ती कागजात इण्डियानामा पुर्याइनु अघि भर्जिनियास्थित पेन्सको अर्को घरमा लगिएको हुनुपर्छ ।