धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भूकम्प प्रभावितहरुको उद्दार र उपचारमा खटिन निर्देशन दिएका छन् ।
मंगलबार बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाको गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितहरुको उचित व्यवस्थापनका लागि पनि रावलले निर्देशन दिएका हुन् ।
भुकम्पले बझाङ, बाजुरासहितका पहाडी जिल्लामा भएको क्षतिप्रति गम्भीर बन्दै सोहीअनुसार खटिन सुरक्षा निकाय प्रमुखहरुलाई निर्देशन दिएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री रावलले अझै भूकम्पका परकम्प आउन सक्ने भन्दै चनाखो रहन समेत सबैलाई आग्रह गरेका छन् । मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला केन्द्रबिन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो ।
भूकम्पका कारण बाजुराको गौमुल गाउँपालिकामा महिलाको मृत्यु भएको छ भने जिल्लामा अन्य तीन जना घाइते भएका छन् । बाजुरा प्रहरीकाअनुसार घाइते हुनेमा गौमुलका एक जना, बडिमालिकाका एक जना र हिमालीका एक जना रहेका छन् । अहिले उनीहरुको उपचार भैरहेको र सामान्य अवस्था रहेको बताइएको छ ।
सो क्षेत्रमा अहिले पनि हिमपात र वर्षाका कारण टेलिफोन सम्पर्क हुन नसक्दा हिमाली गाउँपालिका र गौमुल गाउँपालिकाका कतिपय वडाको क्षति विवरणको अवस्थाबारे जानकारी आउन नसकेको प्रहरीको भनाई छ । उता बझाङमा पनि भौतिक संरचनामा क्षति पुगेको तर अहिलेसम्म मानवीय क्षतिको विवरण भने नआएको जनाइएको छ ।