काठमाडौं । प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न देशभर सर्कुलर गरिएको छ । देशका प्रतिष्ठित सञ्चारमाध्यमहरुमा यो घटनाका बारेमा समाचारहरु आइरहेका छन् । गृह मन्त्रालयले कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई लिखित रूपमा पत्राचार गरेको छ । गृह मन्त्रालयबाट मौखिक र लिखित निर्देशन आएको प्रहरी प्रवक्ता (डीआईजी) टेकप्रसाद राईले बताए । उनले भने–‘देशभर सर्कुलर गरेका छौँ ।’
सांसद कोइरीलाई नियन्त्रणमा लिन प्रहरी लागिराखेको जानकारी दिँदै प्रवक्ता राईले भने–‘छिट्टै समात्छौँ ।’ उनलाई पक्राउ गर्नेबारे प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयको बीचमा विवाद देखिएको छ । माघ ६ मा गृह मन्त्रालयले कोइरीलाई पक्राउ नगरेकोमा विज्ञप्ति नै निकालेर असन्तुष्टि जनाएको थियो । सांसद कोइरी महोत्तरीको गौशाला नगरपालिका–२ का स्थानीय हुन् ।
राष्ट्रसेवक कर्मचारी हत्या अभियोगमा उच्च अदालत जनकपुरले कोइरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ । २०७७ मंसिर १९ मा जनकपुर उच्च अदालतले जारी गरेको ‘वारेन्ट’का कारण उनी प्रहरीको ‘खोजी सूची’मा छन् । अदालतबाट जारी पक्राउ पुर्जी प्रहरीसँग छ । प्रधान कार्यालयले सो पुर्जी अहिले देशभरका प्रहरी युनिटहरूमा पठाएको छ । सांसद कोइरीमाथि २०७२ को मधेस आन्दोलनमा सशस्त्र प्रहरीका असई थमन विकलाई लखेटेर हत्या गरेको आरोप छ । चुनावअघि जसपा छाडेर एमाले प्रवेश गरेर उनी चुनावमा होमिएका हुन् ।
उनीविरुद्ध प्रेमबहादुर विकले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कर्तव्य ज्यान मुद्दाको जाहेरी दिएका थिए । सो मुद्दामा तारेख गुजारेर उनी फरार भएका हुन् ।
लक्ष्मी महतोको अस्थायी बसोबास भक्तपुरको दुवाकोटमा छ । उपत्यका प्रहरी कार्यालयले उनी बस्ने घरमा निगरानी बढाउन प्रहरी परिचालन गरेको छ । घरमा निगरानी बढाएपछि सांसद कोइरी भातरतिर लागेको आशंका गरिएको छ ।
उनीबारे अनुसन्धान गरिरहेका अधिकृतहरू कोइरी भारततिर भागेको बताउँछन् । गृहमन्त्रीको मौखिक आदेश नै पर्याप्त भएको उल्लेख गर्दै प्रहरी प्रवक्ता राईले भने–‘खोजी तीव्र बनाएका छौं, चाँडै पक्रन्छौँ ।’
नयाँ संविधान बन्नुअघि २०७२ मा भएको मधेस आन्दोलनमा सुरक्षामा खटिएका असई विकको हत्या कोइरीको योजनामा भएको अभियोग छ । २०७२ भदौ २५ मा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । थमनका दाजु प्रेमबहादुरले कोइरीसहित २८ जनाविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले मुद्दा चलाएको थियो ।