• बैशाख २८ २०८३, सोमबार

आफ्नै सरकारलाई ज्ञानेन्द्र शाहीको प्रश्न,‘भ्रष्टाचारीलाई कहिलेसम्म छुट दिइरहने हो सरकार ?’

माघ ७ २०७९, शनिबार

काडमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले भ्रष्टाचार गर्नेहरूले कहिलेसम्म छुट पाइरहने भन्दै प्रश्न गरेका छन् । शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भ्रष्टाचारको अनुसन्धान गर्ने निकायले कानमा तेल हालेर बस्दा र आँखामा पट्टी लगाएर बसेको भन्दै आलोचना गरेका छन् ।

‘सम्बन्धित निकायले देखेर पनि नदेखे जस्तै कानमा तेल हालेर आँखामा पट्टी हालेर बसेको छ । त्यसैले होला साना माछामात्रै जालमा पर्ने ठूल्ठूला माछा फुत्किने यो कहिलेसम्म?,’

उनले भने, ‘हामी जस्तो तमाम नव जवान युवाहरू र सिंगो मुलुकको भविष्य आज भ्रष्टाचारले गर्दा बर्बाद भएको छ ।’ यस्तै भ्रष्टाचारका फाइलहरू अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा थन्किएको बताए । अनुसन्धान गर्नमै सीमित हुँदा नियन्त्रण गर्न नसकेको पनि उनले टिप्पणी गरे ।

‘अख्तियार दुरूपयोग निवारण आयोगलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग बनायौं तर अख्तियारले भ्रष्टाचार नियन्त्रण गर्नुको सट्टा अनुसन्धानमै सीमित रह्यो। त्यसैले होला, ठूला ठूला भ्रष्टाचारका आवाजले सडक तातिन्छ, सदनमा सुनिन्छ तर भ्रष्टाचारीलाई कहीँकतै कारबाही भएको देख्न सुन्न पाइँदैन । हरेक दिन पत्रपत्रिका सामाजिक सञ्जाल अनलाइन मिडियामा हाम्रो र तपाईं हामी सबैको मोबाइलमा भ्रष्टाचारका कुरा लेखिन्छन् र छापिन्छन्,’ उनले भने ।