काठमाडौं । युक्रेनका गृहमन्त्रीको हेलिकोप्टर दुर्घटनामा परेर निधन भएको छ । बीबीसीका अनुसार राजधानी किभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनामा परि गृहमन्त्रीसहित १८ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा ३ जना बालबालिका पनि मारिएको अधिकारीहरूले बताएका छन् । राष्ट्रिय प्रहरी प्रमुख इगोर क्लेइमन्कोले अहिलेसम्म १८ जनाको ज्यान गएको जानकारी प्राप्त भएको बताएका छन् ।
गृह मन्त्रालयका कैयौं उच्च अधिकारी, गृहमन्त्री डेनिस मोनास्ट्रास्के र उनका उपमन्त्रीको ज्यान गएको छ । हेलिकोप्टरमा मन्त्रीसँगै अन्य ८ उच्च पदस्थ कर्मचारी थिए । ४२ वर्षीय मोनास्ट्रास्के दुई वर्षअघि गृहमन्त्री नियुक्त भएका थिए । उनी राष्ट्रपति जेलेनेस्की मन्त्रिपरिषदका प्रमुख सदस्य थिए ।
दुर्घटनामा घाइते भएका दश जना बालबालिका सहित २२ जनालाई अस्पताल भर्ना गरिएको छ । दुर्घटनाका बेला शिशु पाठशालामा कर्मचारी र बालबालिका थिए । प्रहरी र चिकित्साकर्मी दुर्घटनास्थलमा उद्धार तथा उपचारमा सक्रिय छन् । राष्ट्रिय प्रहरी प्रमुख इहोर क्लाइमेन्कोका अनुसार उक्त हेलिकोप्टर युक्रेनको राज्य आपतकालीन सेवाको लागि प्रयोग हुँदै आएको थियो ।
युक्रेनको राष्ट्रपति कार्यालयका उपप्रमुख किरिलो टिमोसेन्कोका अनुसार मोनास्ट्रास्के युद्ध भइरहेको ‘हटस्पट’ मा जाँदै थिए ।